तीन नाकामा कडाइ गरिने
सुर्खेत: कोरोना भाइरस ‐कोभिड–१९) को नयाँ भेरियन्टको जोखिम देखिन सक्ने चर्चा भइरहेका बेला कर्णाली प्रदेशमा पनि त्यसबाट बच्न सर्तकता अपनाउने तयारी गरिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले यसबारे तयारी अघि बढाएको हो । निर्देशनालयका अनुसार कर्णाली भित्रने मुुख्य तीन नाकामा कडाइ गरिने भएको छ । बबई, सल्यानको कपुुरकोट र कुुइँने नाकामा बाहिर आउनेहरूको चेकजाँच एवम् स्वास्थ्य परीक्षण गर्नेगरि तयारी थालिएको निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जनाए ।
यी नाकामा कोरोना परीक्षण र आवतजावत गर्नेहरूको निगरानी गर्न लागिएको हो । सुर्खेतको विमानस्थलमा पनि कोरोना परीक्षणको व्यवस्था मिलाउने तयारी रहेको खड्काले बताए । उनका अनुसार अहिले अन्य प्रदेशको तुलनामा कर्णालीको परीक्षण दर घटेपनि संक्रमणको दर भने अझै उस्तै छ । उनी भन्छन, ‘त्यसैले जोखिम कम गर्न स्वास्थ्य सुरक्षा सतर्कतामा सबै नागरिकले ध्यान दिन आवश्यक छ ।’ उनले घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिए भयावह अवस्था निम्तिन सक्ने बताए । ‘हामीले स्वास्थ्यका आवश्यक पूर्वाधार तयार गरेको भए पनि यसले कर्णालीको स्वास्थ्य क्षेत्र निकै प्रभावित बन्न सक्छ,’ उनले भने ।
संक्रमणदर घटेसँगै हाल स्वास्थ्य सुरक्षामा बेवास्ता गरिँदै आएको छ । प्रदेश भित्रने सीमानाकामा चेकजाँच छैन भने सार्वजजिक स्थलहरूमा समेत स्वास्थ्य सावधानी अपनाइएको पाइँदैन । चिकित्सकहरू अहिले पनि कोरोना भाइरसको समग्र संक्रमण दर बढी रहेको बताउँछन् । कर्णालीको पछिल्लो तथ्याङ्कअनुसार १८ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको छ । हाल कर्णाली प्रदेशभर कोरोनाका सिकिस्त बिरामी एक जना पनि छैनन् । स्वास्थ्य संस्थाहरूले पनि परीक्षणको दायरा घटाएका छन् । कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको मात्र परीक्षण गर्ने गरिएको हो ।
कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण भए ज्वरो आउने, सुक्खा खोकी लाग्ने केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने लक्षण देखिन सक्ने बताइएको छ । नयाँ भेरियन्ट हेर्दा सामान्य रुघाखोकी जस्तै देखिने भए पनि उच्च सावधानी अपनाउनुुपर्नेमा जनस्वास्थ्यकर्मीहरूले जोड दिएका छन् ।
प्रकाशित मितिः १९ मंसिर २०७८, आईतवार ०९:०१
साझा बिसौनी ।