प्रदेश नेतृत्व छान्न मतदान

सुर्खेत: नेपाली कांग्रेस कर्णाली प्रदेशको नेतृत्व छनोटका लागि मतदान भएको छ । पार्टीको १४औं महाधिवेशन अन्तर्गत शनिवार प्रदेशको निर्वाचन भएको हो ।

दिउँसो १ बजेदेखि सुरु भएको मतदान साँझ अबेर मात्रै सम्पन्न भएको हो । प्रदेशको नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा भएको छ । सभापतिमा संस्थापन पक्षबाट ललितजंग शाही उम्मेदवार छन् भने संस्थापनइतर समूहबाट भुपेन्द्रजंग शाही र तेस्रो धार (विमलेन्द्र निधि समूह)बाट मोतिराज बम उम्मेदवार बनेका छन् । अन्य पदाधिकारीसहित सदस्यमा पनि प्यानलगत उम्मेदवारी परेको छ ।

दुई जना उपसभापतिका लागि चार जनाको उम्मेदवारी परेको छ । यस्तै महामन्त्रीमा पनि दुई जनाका लागि चार जनाकै उम्मेदवारी परेको हो । संस्थापन समूहबाट बागि उम्मेदवारी दिएका गोविन्द कोइरालाले मनोनयन फिर्ता लिएका थिए । त्यसैगरी खुलातर्फ सहमहामन्त्रीमा चार र महिला सहमहामन्त्रीमा दुई जनाले उम्मेदवारी दिएका छन् । विधानअनुसार तीन जना सहमहामन्त्री हुने व्यवस्था छ, जसमा एक जना महिला र दुई जना खुलातर्फबाट निर्वाचित हुनेछन् ।

कर्णाली प्रदेशमा विशेषगरी संस्थापन (शेरबहादुर देउवा समूह र संस्थापनइतर (रामचन्द्र पौडेल) समूहबीचको प्रतिस्पर्धा हुँदैछ । दुवै समूहले आ–आफ्नो जित हुने दाबी गरेका छन् । यद्यपि कांग्रेस निकट स्रोतका अनुसार निर्वाचनमा सहभागी हुने प्रतिनिधि भने संस्थापन पक्षका धेरै छन् । प्रतिनिधि छनोटमा पनि दुई समूहबीच नै प्रतिस्पर्धा भएको थियो ।

संघीयता लागू भएपछि पहिलोपटक कांग्रेसले प्रदेश तहमा नेतृत्व चयन प्रक्रिया थालेको हो । २०७५ फागुन १२ गते नवौं पटक विधान संशोधन गर्दै प्रदेश संरचना राखेको थियो  । त्यसअघि २०७२ फागुनमा सम्पन्न १३औं महाधिवेशनमा प्रत्येक प्रदेशबाट दुई–दुई जना केन्द्रीय सदस्य निर्वाचित भए पनि प्रदेश कार्य समिति गठन भएको थिएन । प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई संयोजकको जिम्मेवारी दिएर प्रदेश कार्य समिति गठन गर्ने प्रयास भए पनि सम्भव भएको थिएन । अब निर्वाचनमार्फत नै प्रदेशको पहिलो नेतृत्व चयन हुनेछ ।

प्रकाशित मितिः   १९ मंसिर २०७८, आईतवार ०९:००