चार वर्षपछि जिल्ला लिग

सुर्खेत: पहिलो पटक रेलिगेसनसहितको जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । चार वर्षपछि हुन लागेको लिगमा यसपटक क्लब रेलिगेसन नियम लागू गरिएको हो । प्रतियोगिता मंसिर २१ गतेदेखि सञ्चालन हुँदैछ ।

लिगमा सहभागिताका लागि १७ वटा क्लब दर्ता भएका छन् । आयोजक सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीकाअनुसार हालसम्म दर्ता भएका १७ क्लवमध्ये अघिल्लो लिगको अङ्क तालिकामा पहिलोदेखि छैठौं स्थानसम्म रहने टोलीले सोझै दोस्रो चरणको लिगमा प्रवेश पाउने छन् । बाँकी टोलीले पहिलो चरणमा हुने नकआउट चरणका खेलमा प्रतिष्पर्धा गर्ने र तीमध्ये पुछारमा रहने दुई टोलीले अर्को वर्ष फेरि नकआउट चरणबाटै प्रतिष्पर्धा गरी अघि बढ्नुपर्नेछ ।

१७ टिम दर्ता, पाँच नयाँ । पहिलो पटक क्लब रेलिगेसन हुने

अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नीति अनुसार जिल्ला लिगमा पनि पुछारका दुई टोली रेलिगेसनमा पर्ने महासचिव कार्कीले जानकारी दिए । ‘अङ्क तालिकाको पुछारमा रहने दुई टोलीले अर्को वर्ष हुने प्रतियोगितामा फेरि प्रतिष्पर्धा लिग चरणबाटै प्रतिष्पर्धा गर्नुपर्नेछ’, उनले भने, ‘यसबाट क्लबहरूबीचमै स्वस्थ प्रतिष्पर्धाको भावना विकसित हुने अपेक्षा लिएका छौं ।’

जिल्ला लिगका लागि हालसम्म दर्ता भएका १७ मध्ये पाँच वटा नयाँ क्लब छन् । टिम दर्ताका लागि पेस गरिएका कागजातको छानविन र प्रमाणिकरणपछि मात्र क्लब दर्ताको आधिकारिकता दिने गरिएको छ । यसपटक वीरेन्द्रनगर उपत्यकाभित्रबाट बौद्ध स्पोर्टस क्लब, भैरव युवा क्लब, राइजिंग एसकेटी क्लब नव प्रवेशीका रूपमा रहेका छन् । विगतमा उपत्यका भित्रकै क्लबहरूको बढी सहभागिता रहने जिल्ला लिगमा यसपटक गुर्भाकोटबाट मेहेलकुना स्पोर्टस क्लब, चौकुनेबाट सिंगारीताल युवा क्लबको पनि सहभागिता रहनेछ । उपत्यका बाहिरबाट पनि क्लबहरूको उत्साहपूर्ण सहभागिता जनाउनु फुटबलका लागि राम्रो पक्षको भएको बताउँदै महासचिव कार्कीले भने, ‘यसबाट फुटबल प्रतिको लगाब र मोहपनि गाउँ गाउँसम्म पुग्नेछ ।’

यसबाहेक प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको लागि अनिवार्य बिमा गर्नुपर्ने व्यवस्थापनि गरिएको छ । प्रतियोगिता अवधिभर हुनसक्ने सम्भावित दुर्घटना वा भवितव्यबाट थप आर्थिक भार कसैलाई पनि नपरोस् भन्ने उद्देश्यले खेलाडी बिमा अनिवार्य गरिएको बताइएको छ । मंसिर २० गते दिउँसो ३ बजे संघको कार्यालयमा खेलतालिका सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । यस वर्षदेखि जिल्ला फुटबल संघले विजेता र उपविजेतालाई दिने आफ्नै मौलिक किसिमको ट्रफी दिने तयारी गरेको महासचिव कार्कीले जनाए । विगतमा बजारमा पाइने ट्रफी प्रदान गरिंदै आएकोमा अब काँक्रेविहारको प्रचार प्रसार र प्रवद्र्धनसमेत गराउने उद्देश्यले काँक्रेविहारको संरचनाकै जिल्ला लिग ट्रफी प्रदान गरिने बताइएको छ ।

प्रकाशित मितिः   १९ मंसिर २०७८, आईतवार ०८:५५