अपाङ्गताबारे सेवा प्रदायक नै अनभिज्ञ

सुर्खेत: अपाङ्गता भएका व्यक्तिहरूले आफूहरूको अवस्थाबारे सेवा प्रदायक निकाय नै अनभिज्ञ रहेको बताएका छन् । उनीहरूले स्थानीय सरकारसँग अपाङ्गता भएका व्यक्तिको यकिन तथ्याङ्कसमेत नरहेको बताएका हुन् । बिहीवार वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले अपाङ्गताका सवालमा स्थानीय सरकारसँग कार्ययोजना नै नभएको आरोप लगाएका छन् । वीरेन्द्रनगर–८ का मायाप्रसाद जैसीले सरकारसँग अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाबारे कुनै पनि तथ्याङ्क नरहेको जिकिर गरे । ‘सरकारको बेवास्ताका कारण अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जनमा निकै समस्या छ,’ उनले भने, ‘यकिन विवरण नहुँदा अपाङ्गता भएकाहरूका लागि ठोस नीति तथा कार्यक्रम बनेका छैनन् ।’ जैसीले अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाबारे जानकारी लिएर मात्र सोही अनुसार कार्यक्रम र बजेट विनियोजन गर्न सुझाए ।

निजी घरहरू अपाङ्गतामैत्री बनाए राजस्वमा छुट दिइने

त्यस्तै, वीरेन्द्रनगरकै रेनुका कोइरालाले अपाङ्गमैत्री संरचना नहुँदा समस्या हुने गरेको गुनासो गरिन् । उनले अपाङ्गता भएका महिलाहरूमाथि घरेलु हिंसाका घटनासमेत बढेकाले यसतर्फ सरोकारवाला निकायकोे ध्यान जानुपर्ने बताइन् । यतिबेला महिला हिंसाविरुद्धको अभियान जारी रहेको उल्लेख गर्दै कोइरालाले अप्रत्यक्ष वा प्रत्यक्षरूपमा सबैभन्दा बढी अपाङ्गता भएका महिलाहरू हिंसामा पर्ने गरेको सुनाइन् । ‘सरकारबाट पाउने सेवा–सुविधाको बारेमा नै कतिपयलाई थाहा छैन्,’ उनी भन्छिन्, ‘यस्तो अवस्थामा कसरी लक्षित वर्गले सरकारका कार्यक्रमबाट लाभ लिने ।’

अपाङ्गता भएका व्यक्तिहरूका लागि स्थानीय सरकार र सम्बन्धित संस्थारूले घरमा नै गएर सेवा दिनुपर्ने नागरिक समाजका अगुवाहरूले बताएका छन् । महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीले अपाङ्गता भएका व्यक्तिहरूका लागि बनाइएका सार्वजनिक स्थलको अनुगम, परिवार सम्बन्ध र प्रजनन स्वास्थ्यबारे सरकारी निकायको ध्यान जानुपर्ने औंल्याइन् । सरकारीस्तरबाट अनुगमन र निरीक्षण तथा घरदैलो सेवा दिन सके अपाङ्गता भएका व्यक्तिलाई राहत हुने उनको भनाइ छ ।

सहभागिको गुनासो सुनेपछि वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरभित्र अब बन्ने सबै संरचनाहरू अपाङ्गतामैत्री बनाइने जनाइन् । उनका अनुसार नगरपालिकाले निजी घरहरू पनि अपाङ्गतामैत्री बनाइए त्यस्ता व्यक्तिलाई राजस्वमा समेत छुट दिइने छ । ढकालले अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाबारे यकिन विवरण संकलन गरी आवश्यकताका आधारमा योजना निर्माण गरिने प्रतिबद्धता जनाइन् ।

प्रकाशित मितिः   १७ मंसिर २०७८, शुक्रबार ०९:४७