हिमाली क्षेत्रमा हिमपात

सुर्खेत: हिमाली जिल्लाहरूमा हिमपात हुन थालेको छ । हुम्ला र मुगुमा हिमपात भएको हो । हिउँ परेसँगै ती जिल्लामा चिसो अत्यधिक बढेको छ । हुम्ला सदरमुकाम सिमकोट तथा तल्लो क्षेत्रमा बिहीवार बिहानदेखि पानीसमेत परिरहेको छ । हिमाली भेकमा हिमपातसँगैको झरीले जनजीवन कष्टर बनेको छ । सिमकोटको तापक्रम माइनसमा झरेपछि चिसोबाट जोगिन स्थानीय बासिन्दाले आगो ताप्न थालेका छन् । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा पनि हिमपातले चिसो बढाएको छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण केही दिन उच्च पहाडी तथा हिमाली जिल्लामा मध्यमदेखि भारी हिमपात हुने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार कर्णाली, सुदूर–पश्चिम, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

कर्णालीका प्रदेशका पहाडी जिल्लामा हल्कादेखि मध्यम खालको वर्षाको समेत सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए । यो प्रणालीको असर बिहीवारदेखि नै देखिन थालेको छ । मौसमविद् समिर श्रेष्ठकाअनुसार यो प्रणालीकै कारण पहाड र तराईका जिल्लामा हुस्सु, कुहिरो लागेको छ । हिमाली जिल्लामा भारी हिमपातको सम्भावना रहेकाले सकेसम्म पर्वतारोहणमा नजान मौसमविद्हरूले सुझाएका छन् ।

सीमा चौकी विस्थापित

हिमपातका कारण अत्यधिक जाडो हुन थालेपछि नेपाल–चीन सीमास्थित हुम्लाको लिमी र डोल्पाको थार्का तथा मुगुको मुगुगाउँस्थित प्रहरी चौकी विस्थापित भएका छन् । हिमपातको मौसम सुरू भएपछि चौकीमा कार्यरत प्रहरीलाई हुम्ला सदरमुकाम सिमकोट र मुगु सदरमुकाम गमगढी बोलाइएको हो । चिसोका कारण आसपासका गाउँहरू सुनसान बनेपछि प्रहरी चौकी विस्थापित भएका हुन् । जाडो कटाउन सीमावर्ती गाउँका बासिन्दा बेंसीतिर झरेका छन् । सदरमुकाम बोलाइएका प्रहरीहरू गर्मी सुरू भएपछि चैत महिनामा मात्र चौकीमा फर्किने मुगुका डीएसपी सुवास हमालले जनाए । उनका अनुसार चिसो बढेपछि चौकीमा कार्यरत ११ प्रहरी सदरमुकाम आएका छन् ।

त्यस्तै, हुम्लाको लिमीमा रहेको प्रहरी चौकी पनि चिसो बढेपछि दुई साताअघि सदरमुकाम सिमकोट सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा २५ जनाको दरबन्दी रहेको लिमी प्रहरी चौकी चिसोका कारण करिब पाँच महिनासम्म बन्द हुने गरेको छ । डोल्पाको तिब्बत सीमा क्षेत्रमा राखिएको थार्का प्रहरी चौकी पनि डेढ साताअघि सदरमुकाम दुनै सारिएको डोल्पाका डीएसपी निरञ्जन थापाले जानकारी दिए । चीन सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न र राजस्व संकलन गर्न सरकारले स्थापना गरेका प्रहरी चौकीहरू चिसोका कारण बेमौसमी बनेका हुन् । गर्मी सुरु भएपछि प्रहरीलाई फेरि गाउँमा पठाइने मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत बताए ।

प्रकाशित मितिः   १७ मंसिर २०७८, शुक्रबार ०९:४३