सीपमूलक शिक्षाको आवश्यकता

शिक्षालाई व्यावसायिक बनाउनुपर्ने अवधारणाको विकास भएको लामो समय भइसकेको छ । तर नेपालमा भने यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । प्राविधिक तथा व्यावसायिक शिक्षा आर्थिक र सामाजिक विकासको मेरुदण्ड मानिन्छ । आधारभूत तहबाटै त्यसखालको शिक्षा दिनुपर्नेमा जोड दिने गरिन्छ । सैद्धान्तिक ज्ञानका साथसाथै सीपमूलक र प्राविधिक शिक्षालाई आजको आवश्यकताका रूपमा हेर्ने गरिन्छ । यद्यपि नेपालका सामुदायिक विद्यालयको पाठ्यक्रम अहिले पनि व्यासायिक ज्ञानमा आधारित हुन सकिरहेका छैनन् । छिटफुट रूपमा केही विद्यालयले भने अभ्यास गरेका छन् । पछिल्लो समय सरकारले पनि यसको अभ्यास गर्न थालेको छ । कर्णाली प्रदेश सरकारले सुरुवातसमेत गरेको छ ।

कर्णालीमा पहिलो पटक सरकारीस्तरबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । प्राविधिक विद्यालयमार्फत प्रविधि प्रसार तथा सिक्दै–कमाउँदै कार्यक्रम सञ्चालन हुने भएको हो । त्यसका लागि पशुुपन्छी विकास निर्देशनालयले सुर्खेतमा सञ्चालित पशुविज्ञान अध्ययन गराइरहेका प्राविधिक सामुदायिक विद्यालयहरूबाट प्रस्ताव आह्वान गरेको छ । अर्गानिक कृषि र पशुु उत्पादनका क्षेत्रमा प्राविधिक विद्यालयको क्षमता बढाउने उद्देश्य कार्यक्रमको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार यो पटक एउटा मात्र विद्यालय छनोट हुनेछ । उक्त विद्यालयलाई आठ लाख रूपैयाँ अनुदान उपलब्ध गराइने निर्देशनालयले जनाएको छ । विद्यालय छनोटका लागि निश्चित कार्यविधि र मापदण्ड तोकिएका छन् । विद्यालयको हालको शैक्षिक गुणस्तरदेखि भौतिक पूर्वाधारको अवस्थाको समेत मूल्याङ्कन गरिने छ । यसरी छानिएको विद्यालयले मात्र कार्यक्रम सञ्चालनको अनुमति पाउने छ ।

यो कार्यक्रम कृषिमा आधारित हो । विद्यालयको ज्ञानसँगसँगै कृषि शिक्षा दिने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको छ । यसले विद्यालय क्षेत्रमा अर्गानिक कृषि उत्पादन र पशुु पालनका लागि आधाभूत पूर्वाधार विकास गर्ने योजनालाई मद्दत गर्नेछ । यसपालि छनोट हुने विद्यालयको परिणामका आधारमा प्रदेशका अन्य प्राविधिक शिक्षालयमा कार्यक्रम विस्तार गर्ने योजना मन्त्रालयको छ । आगामी वर्षदेखि पशुुपन्छीतर्फको पशुु विकास निर्देशनालय र कृषिको कृषि विकास निर्देशनालयबाट बजेट विनियोजन गर्नेगरी तयारी थालिएको हो । व्यवहारिक शिक्षाको कार्यक्रमले विद्यार्थीलाई सैद्धान्तिकसँगै जीवन उपयोगी ज्ञानमा पनि दक्ष बनाउने अपेक्षा गर्न सकिन्छ । यसले दक्ष जनशक्ति उत्पादनमा समेत सघाउ पु¥याउनेछ ।

प्रकाशित मितिः   १७ मंसिर २०७८, शुक्रबार ०९:४२