नेपाल यू-१९ एसिया कपको समूह चरणबाटै बाहिरियो
यू-१९ एसिया कप क्रिकेटमा नेपाल उपाधिको दाबेदार भारतसँग ६ विकेटले पराजित भएको छ । र, लगातार दोस्रो हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।
शुक्रबार कोलम्बो क्रिकेट ग्राउण्डमा नेपालले प्रस्तुत गरेको १७३ रनको लक्ष्य भारतले मात्र ३३.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि सुभम गिलले सर्वाधिक ५७ रन बनाए भने हिमान्सु रानाले ५१ रन दिए ।
दुबैको विकेट नेपालका पवन सरार्फले लिएका थिए । नेपालले लिएको चार मध्ये तीन विकेट उनको नाममा रहृयो ।
भारतका प्रियम गर्गले अविजित ३९ रन जोडे भने सालमान खानले नटआउट १९ रन बनाए ।
यसअघि यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७२ रन जोडेको थियो । नेपालका लागि सातौं नम्बरका ब्याट्सम्यान रोहित कुमार पौडेलले सर्बाधिक ६८ रन जोडे ।
पौडेलले ४९.२ ओभरमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । त्यसपछि भारतीय बलर कमलेश नगरकोटीबिरुद्ध आक्रामक देखिएका पौडेलले लगातार चार बलमा क्रमसः चौका, चौका, छक्का र चौका प्रहार गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्याए । उनले अन्तिम ओभरमा २४ रन नेपालको खातामा जोडेका थिए ।
दिपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । श्रीलंकाबिरुद्धको हिजोको खेलमा ९० रन बनाएका उनले भारतसँगको खेलमा भने ६२ बल खेलेर ४ चौकसहित ३४ रन बनाए ।
औषत सुरुवात गरेको नेपालले एघारौं ओभरमा पहिलो विकेट गुमाएको थियो ।त्यसपछि नेपालले लगातार विकेट गुमायो र ५१ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो ।
मध्यक्रममा दिपेन्द्रबाहेक अन्य कुनै ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।ओपनर आसिफ शेखले १८ रन बनाए । तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका क्रमसः आदिल खान र भीम कार्कीले खाता खोल्न सकेनन् ।
विकेटकिपर ब्याट्सम्यान प्रकाश केसीले १३ र कप्तान सन्दीप लामिछानेले नेपालको खातामा ७ रन जोडे ।
प्रकाशित मितिः १ पुष २०७३, शुक्रबार १९:०३
साझा बिसौनी ।