अधिवेशन उद्घाटनमा देखिएको तिक्तता

सुर्खेत: नेपाली कांग्रेसभित्र केन्द्रदेखि स्थानीय तहसम्मै दुई गुट छन् । पार्टीको आन्तरिक गतिविधिमा संस्थापन र संस्थापनइतर समूहबीच चर्को प्रतिस्पर्धा हुने गरेको छ । तर दुई गुटबीचको सम्बन्ध आन्तरिक प्रतिस्पर्धामा मात्रै सीमित भने छैन, तिक्ततापूर्ण पनि छ । त्यही तिक्तता बिहीवार कर्णाली प्रदेश अधिवेशन उद्घाटन समारोहमा पनि पोखिएको छ ।

कांग्रेसको १४औं अधिवेशन अन्तर्गत चलिरहेको कर्णाली प्रदेशको उद्घाटन सत्रमा एउटा समूह नै सहभागी भएन । वीरेन्द्रनगरस्थित रंगशालामा आयोजना गरिएको उद्घाटन समारोहमा रामचन्द्र पौडेल समूह सहभागी नभएको हो । आफूहरूसँग सल्लाह नभएको भन्दै उक्त समूहका नेताहरू सहभागी भएनन् ।

उद्घाटन समारोह भइरहँदा कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानी वीरेन्द्रनगरमै थिए । तर उनीसहित सो समूहका नेताहरू शिवराज जोसी, भूपेन्द्रजंग शाही, खड्ग बस्याल, दीनबन्धु श्रेष्ठलगायतका नेताहरू उद्घाटन कार्यक्रम मञ्चमा देखिएनन् । उनीहरूलाई आसन ग्रहणको लागि भने नाम बोलाइएको थियो । आफूहरूसँग कुनै सल्लाह नै नगरी अधिवेशनको उद्घाटन कार्यक्रम आयोजना गरिएकोले नेता भूपेन्द्रजंग शाहीले बताए । ‘हामीलाई न कुनै खबर छ, न त कुनै सल्लाह नै गरिएको छ,’ उनले भने, ‘यो पार्टीको ऐतिहासिक प्रदेश अधिवेशन हो, कुनै गुटको त होइन नि । तर त्यहाँ हामीसँग कुनै सरसल्लाह नै नगरी कार्यक्रम गरिएकोे छ ।’

कर्णाली प्रदेश अधिवेशन मूल आयोजक समितिका सभापति रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षता तथा महामन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन गरिएको हो । संस्थापनइतर समूहको नेतृत्व गरिरहेका नेताहरूको उपस्थिति नभए पनि पौडेल समूहका जिल्ला सभापतिहरूको भने सहभागिता रहेको थियो ।

प्रदेश अधिवेशन अन्तर्गत आज (शुक्रवार) उम्मेदवारहरूको मनोनय दर्ता हुने जनाइएको छ । संघीयता कार्यान्वयनको चार वर्षपछि कांग्रेसले पहिलो पटक प्रादेशिक संरचना निर्माण गर्दैछ । अन्य दलहरूले यसअघि नै आफ्नो पार्टीको प्रदेश संरचना तयार गरेपनि कांग्रेसले भने अधिवेशनमार्फत प्रदेशको नेतृत्व छनोट गर्दैछ ।

शाहीद्वारा उम्मेदवारी घोषणा

कांग्रेसको कर्णाली प्रदेश सभापतिमा युवा नेता भुपेन्द्रजंग शाहीले उम्मेदवारी दिने भएका छन् । संस्थापनइतर (रामचन्द्र पौडेल) समूहले शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनले बिहीवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी घोषणासमेत गरेका छन् ।

पत्रकार सम्मेलनमा शाहीले कांग्रेसलाई गुटरहित बनाउन आफ्नो भूमिका हुने बताए । उनले कर्णाली प्रदेशका साथै मुलुककै पहिलो शक्तिका रूपमा कांग्रेसलाई उभ्याउन लाग्ने समेत प्रतिबद्धता जनाए । शाही तरुण दलको केन्द्रीय महामन्त्री र नेपाल विद्यार्थी संघको उपसभापति भइसकेका छन् ।

पौडेल पक्षले प्रदेश सभापतिको उम्मेदवार टुङ्गो लगाएपनि संस्थापन (शेरबहादुर देउवा) समूहले भने उम्मेदवार टुंग्याइसकेको छैन । उक्त समूहबाट जाजरकोटका राजिवविक्रम शाह र जुम्लाका ललितजंग शाही सभापतिका दाबेदार हुन् । उम्मेदवार टुंग्याउन महामन्त्री पूर्णबहादुर खड्का सक्रिय भएका छन् ।

प्रकाशित मितिः   १७ मंसिर २०७८, शुक्रबार ०९:४१