कर्णालीको संघर्षपूर्ण जित

सुर्खेत: कर्णाली प्रदेशले १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा सान्तवना जित हात पारेको छ । बिहीवार प्रदेश नं. २ माथि दुई विकेटको संघर्षपूर्ण जित दर्ता गरेको हो ।

मुलपानी क्रिकेट मैदानमा ४६ रनको लक्ष्य पूरा गर्न कर्णालीले ८ विकेट गुमाउनु पर्यो । कर्णालीले १३ दशमलव ३ ओभरमा लक्ष्य पूरा गरेको थियो । कर्णालीविरुद्ध पराजित भएसँगै प्रदेश २ प्रतियोगिताबाट बाहिरिएको छ । प्रदेश २ ले ६ मध्ये दुई खेलमात्र जित्न सक्यो ।

यता यस अघि नै प्रतियोगिताबाट बाहिरिएको कर्णालीले पनि ६ मध्ये दुई खेलमा जित हात पार्दै प्रतियोगिता टुंग्याएको छ । कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक १६ रन जोडे । प्रदेश २ का राजेश यादवले सर्वाधिक ६ विकेट हात पारेपनि जितका लागि पर्याप्त भएन । विवेक यादवले २ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले १३ दशमलव ४ ओभरमा अलआउट हुदै केवल ४५ रन जोड्न सक्यो । प्रतियोगितामा यो दोस्रो सर्वाधिक कम योगफल हो । सबैभन्दा कम रन भने गण्डकी प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध बनाएको थियो । गण्डकीले लुम्बिनीविरुद्ध केवल २३ रनको योगफल तयार पारेको थियो ।

बिहीवारको खेलमा प्रदेश २ का सन्नी साहले सर्वाधिक १२ रन जोडे भने सन्तोष कार्कीले ११ रन बनाएका थिए । .पाँच खेलाडी शुन्य रनमै आउट भए । कर्णालीका प्रकाश जैसी एक्लैले ८ विकेट चटकाए । अनुज चनाराले २ विकेट लिए ।

प्रकाशित मितिः   १७ मंसिर २०७८, शुक्रबार ०९:३९