मुख्यमन्त्रीलाई विश्वासको मत

सुर्खेत: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधवार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिएका हुन् । बैठकमा सहभागी सबै (२२ जना) सांसदले उनको पक्षमा मतदान गरे । विपक्षमा शून्य मत परेको हो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा प्रतिपक्षी दल नेकपा (एमाले) भने सहभागी बनेन् । सत्ता गठबन्धका तीन दलसँगै राप्रपाले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ । प्रदेशसभामा अहिलेसम्म प्रतिपक्षमा रहेको राप्रपाले कांगेस नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री शाहीले आफ्नो दल नेपाली कांग्रेसका ६, माओवादी केन्द्रका १२, नेकपा (एकीकृत समाजवादी) का तीन र राप्रपाका एक सांसदको मत पाएका छन् । हाल कायम ३५ सदस्यीय प्रदेशसभामा उनलाई मुख्यमन्त्रीमा निरन्तरताका लागि १८ मत आवश्यक थियो ।

मुख्यमन्त्री शाहीले मंगलवारको बैठकमा विश्वासको मत सम्बन्धित प्रस्ताव पेस गरेका थिए । सोही दिन विश्वासको मत लिने कार्यसूची थियो । तर, प्रमुख प्रतिपक्ष दल अनुपस्थित रहेपछि एक दिन ढिलागरी उनले विश्वासको मत आर्जन गरेका हुन् । यद्यपि, बिहीवार पनि एमालेका सांसद भने बैठकमा आएनन् । गठबन्धन दलको समर्थनमा शाही गत कार्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संवैधानिक प्रावधानअनुसार नियुक्त भएको एक महिनाभित्र मुख्यमन्त्रीले संसद्बाट विश्वासको मत लिनुपर्छ । सोहीअनुरूप उनले विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्री शाहीले आफू नियुक्त भएको एक महिना भइसक्दा पनि सरकारलाई भने पूर्णता दिन सकेका छैनन् । उनको मन्त्रीपरिषद्मा दुई जना मन्त्री मात्र नियुक्त भएका छन् । सत्ता गठबन्धन दलहरूबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा सरकार विस्तार हुन नसकेको हो ।

प्रकाशित मितिः   १६ मंसिर २०७८, बिहीबार ०९:३६