कांग्रेस महाधिवेशनः प्रदेश नेतृत्वमा रस्साकस्सी
सुर्खेत: नेपाली कांग्रेसको प्रदेश अधिवेशन आज (बिहीवार) सुरु हुँदैछ । अधिवेशनले पहिलो पटक कांग्रेसको प्रदेश नेतृत्व चयन गर्नेछ । मुलुक संघीयतामा गएको केही वर्ष भइसकेपनि कांग्रेसले अहिलेसम्म पार्टीको प्रदेश संरचना बनाएको छैन । पहिलो पटक अधिवेशनमार्फत प्रदेश समिति गठन गर्न लागिएको हो ।
कर्णाली प्रदेशको नेतृत्वका लागि नेताहरूबीच रस्साकस्सी सुरु भएको छ । प्रदेशमा पनि दुई गुटबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिन्छ । कर्णालीमा संस्थापन समूहबाट राजीवविक्रम शाह र ललितजंग शाही दाबेदार छन् । संस्थापनइतर समूहबाट युवा नेता भूपेन्द्रजंग शाही र पूर्वसांसद दीपकजंग शाह प्रदेश सभापतिका प्रमुख दाबेदार हुन् ।
दुवै समूह उम्मेदवार टुंग्याउने कसरतमा छन् । संस्थापन समूहबाट आकांक्षीहरूको व्यवस्थापनका लागि महामन्त्री पूर्णबहादुर खड्का सक्रिय भएका छन् । खड्का निकट स्रोतका अनुसार सभापतिको उम्मेदवार छनोटमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काबीच नै एकमत हुन सकेको छैन । देउवाले जाजरकोटका पूर्वसभासद राजीवविक्रम शाहलाई प्रदेश सभापति बनाउन चाहेका छन् भने खड्का जुम्लाका पूर्वसभासद शाहीलाई बनाउने कसरतमा छन् । शाहीले महाधिवेशन प्रक्रिया सुरु हुनुअघि समूह परिवर्तन गरेका हुन् ।
अर्कोतर्फ संस्थापनइतर समूहका उम्मेदवार छनोटका लागि केन्द्रीय सदस्य हृदयराम थानी सक्रिय भएका छन् । तर भुपेन्द्र र दिपकजंगमध्ये कसलाई सभापति बनाउने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन । थानी निकट स्रोतका अनुसार उनी दिपकजंग शाहलाई सभापतिको उम्मेदवार बनाउन चाहन्छन् । उनले सोहीअनुसार लविङ गरिरहेका छन् । तर कालीकोटका भुपेन्द्र पनि सभापति नछोड्ने मुडमा छन् । जसले गर्दा थानी अप्ठ्यारोमा परेका छन् ।
यसपटक कर्णाली प्रदेशमा संस्थापन समूह नै बलियो देखिएको छ । प्रदेशका दशमध्ये आठ जिल्लाको नेतृत्व संस्थापन समूहले जित्दा संस्थापनइतर समूहले दुई वटा जिल्लामा मात्र जित हात पारेको छ । जिल्ला नेतृत्वसँगै प्रतिनिधिमा पनि संस्थापन पक्ष अघि देखिएको छ ।
प्रकाशित मितिः १६ मंसिर २०७८, बिहीबार ०९:३२
साझा बिसौनी ।