मुख्यमन्त्रीद्वारा विश्वासको प्रस्ताव पेस

मत विभाजन आज

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । मंगलवार प्रदेशसभा बैठकमा उनले उक्त प्रस्ताव पेस गरेका हुन् ।

प्रस्तावमाथिको मतविभाजन भने बुधवार गरिनेछ । प्रदेशसभाको प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरू अनुपस्थित रहेका कारण विश्वासको मतसम्बन्धी प्रस्ताव मात्रै पेस गरेर संसद् बैठक स्थगित गरिएको हो । एमालेको १०औं महाधिवेशन जारी रहेको र प्रदेशसभा सदस्यहरू महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका कारण पनि मंगलवारको बैठक औपचारिकतामा सीमित भएको थियो ।

गत कार्तिक १६ गते शाही मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार उनले संसद्मा प्रस्ताव पेस गरेका हुन् । शाहीलाई तीन दलको साथ छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

शाही मुख्यमन्त्री बनेको एक महिना हुँदासम्म पनि सरकारले भने पूर्णता पाउन सकेको छैन । आठ सदस्यीय मन्त्रीमण्डलमा मुख्यमन्त्रीसहित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट मात्र छन् । पाँच वटा मन्त्रालय मन्त्रीविहीन छन् । गठबन्धनबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । मुख्यमन्त्रीले विश्वासको मत लिइसकेपछि सरकारलाई पूर्णता दिइने जनाइएको छ । यद्यपि दलहरूबीच मन्त्रालयको टुङ्गो भने लागि सकेको छैन ।

प्रकाशित मितिः   १५ मंसिर २०७८, बुधबार ०८:२९