आर्थिक मामिला मन्त्रीमा विष्ट

सुर्खेत: कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीमा विन्दमान विष्ट नियुक्त भएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले विष्टलाई मन्त्री नियुक्त गरेका हुन् । उनले मंगलवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले विष्टलाई मन्त्री बनाउने निर्णय गरेको थियो । विष्ट यसअघि पनि मन्त्रीका लागि सिफारिसमा परेका थिए । तर अन्तिम समयमा उनको नाम हटाइएको थियो । शाही नेतृत्वको माओवादी केन्द्रबाट विष्ट पहिलो मन्त्री बनेका हुन् । उनी सुर्खेतको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २(ख)बाट निर्वाचित सांसद हुन् ।

विष्टको नियुक्तिसँगै कर्णाली प्रदेश सरकार तीन सदस्यीय बनेको छ । अझै पाँच मन्त्रालय मन्त्रीविहीन छन् । गठबन्धनबीच मन्त्रालयको भागबन्डा नटुंगिएकाले मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । यसअघि नेकपा (एकीकृत समाजवादी)बाट चन्द्रबहादुर शाही पनि मन्त्री बनेका छन् ।

प्रकाशित मितिः   १५ मंसिर २०७८, बुधबार ०८:३२