कर्णाली लगातार पराजित

सुर्खेत: १९ वर्षमुनिको एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताबाट कर्णाली प्रदेश बाहिरिएको छ । समूह चरणमा एक मात्रै जित हात पारेको कर्णालीले उपाधि होटबाट बाहिरिएको हो ।

पाँचमध्ये चार खेलमा कर्णाली पराजित भयो । मंगलवार भएको अन्तिम खेलमा वागमती प्रदेशले कर्णाली प्रदेशमाथि एक विकेटको जित निकाल्दै वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गर्ने सम्भावना कायम राखेको छ । मुलपानी क्रिकेट मैदानमा कर्णालीले दिएको ७९ रनको लक्ष्य वागमतीले १९ दशमलब ५ ओभरमा ९ विकेट गुमाएर पुरा ग¥यो । यससँगै वागमतीले पाँच खेलमा दोस्रो जित दर्ता गरेको छ र फाइनलको सम्भावना कायमै राखेको छ ।

यता पाँचमध्ये चार खेलमा पराजय भोगेको कर्णाली भने प्रतियोगिताबाट बाहिरिएको छ । वागमतीलाई जित दिलाउन विवेक मगरले सर्वाधिक १८ रन जोडे । क्रिस कार्कीले १२ तथा उत्तम मगरले ११ रनको योगदान गरे । कर्णालीका अनुज चानाराले सर्वाधिक ५ विकेट हात पारेपनि त्यो जितका लागि पर्याप्त भएन । प्रकाश जैसी, सुवास ऐयर र युनिस सिंहले समान एक–एक विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली २७ दशमलब १ ओभरमा अलआउट हुदै केवल ७८ रन बनाउन सक्यो ।

कर्णालीका लागि कप्तान निश्चल रावलले सर्वाधिक १५ रन जोडे । सन्दीप शाही १४, विपिन रावल १२ र रूपक दाहाल १० रनमा आउट भए । वागमतीका गौतम केसीले सर्वाधिक ४ विकेट हात पारे । विशाल यादवले ३, क्रिस कार्कीले २ र विपुल खनालले १ विकेट लिए ।

प्रकाशित मितिः   १५ मंसिर २०७८, बुधबार ०८:२६