लोकतान्त्रिक आचरण कायम राख्न रेग्मीको अपिल

सुर्खेत: नेपाली कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले पार्टीको आन्तरिक निर्वाचनमा लोकतान्त्रिक आचरणविरुद्ध हुने गतिविधिप्रति सचेत रहन पार्टीको शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका छन् । मंगलवार विज्ञप्ति जारी गर्दै रेग्मीले आन्तरिक निर्वाचनमा लोकतान्त्रिक आचरणविरुद्ध हुने आर्थिक चलखेल, गुण्डागर्दी र अराजक गतिविधिजस्ता क्रियाकलापले पार्टी संगठन र कार्यकर्तालाई संगठित होइन, द्वेष र बदलाको भाव उत्पन्न हुने भएकोले यस्ता गतिविधिविरुद्ध पार्टीका शीर्ष नेतृत्वले गम्भीर मनन् गर्न ध्यानाकर्षण गराएका हुन् ।

लोकतन्त्रको आधारको रूपमा रहेको पार्टीको आन्तरिक निर्वाचन पार्टी सुदृढिकरणको महŒवपूर्ण चरण भएको उनले बताए । विज्ञप्तिमा पार्टीभित्र आन्तरिक लोकतन्त्र, आपसी एकता, सद्भाव र सम्बन्धको दायरालाई मजबुद बनाउन सहयोग पुग्ने भए पनि लोकतान्त्रिक आचरण विपरितका गतिविधिहरूले एकता होइन बदलाको भाव आउन सक्ने हुँदा त्यसतर्फ सजग रहन अपिल गरिएको छ । पार्टीको आन्तरिक निर्वाचनबाट वडा, गाउँ नगर, प्रदेश क्षेत्र, निर्वाचन क्षेत्र र जिल्ला तहमा निर्वाचित नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै रेग्मीले निर्वाचनका क्रममा प्राप्त मत परिणामलाई स्वीकार गर्नु लोकतान्त्रिक संस्कार भएको जनाएका छन् । निर्वाचनको परिणामबाट रत्तिभर विचल्लित नभइ पार्टी सुदृढिकरण, संगठन विस्तार, विकास निर्माण एवम् जनताको सेवामा थप सक्रिय रहन प्रतिबद्धतासमेत अपिलमार्फत उनले गरेका छन् ।

यसैबीच आन्तरिक निर्वाचनबाट निर्वाचित जिल्ला कार्यसमितिलाई बधाई दिँदै पार्टीको माइन्युट र चाबी हस्तान्तरण गरिएको छ । निवर्तमान सभापति रेग्मीले नवनिर्वाचित सभापति खड्ग पोख्रेललाई हिजो माइन्युट र चाबी हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मितिः   १५ मंसिर २०७८, बुधबार ०८:२५