संस्थापनको प्यानल नै विजयी

सुर्खेत: नेपाली कांग्रेसको सुर्खेत जिल्ला कार्यसमितिमा संस्थापन पक्षको प्यानल नै विजयी भएको छ । आइतवार भएको निर्वाचनबाट प्यानल विजयी भएको हो ।

सभापतिमा संस्थापनकै खड्क पोखरेल निर्विरोध निर्वाचित भएका थिए भने अन्य पदमा निर्वाचन भएको थियो । उपसभापतिमा विष्णुबहादुर खड्का र टोपबहादुर रावत निर्वाचित भएका छन् । खड्काले एक हजार दुई सय तीन मत ल्याएका छन् भने रावतले एक हजार एक सय ६० मत पाएका छन् ।

सचिवमा देवकुमार सुवेदी र बालदीप कंडेल, सहसचिवमा प्रकाश डिसी र हरि विष्ट निर्वाचित भएको सहायक निर्वाचन अधिकृत दुर्गा सापकोटाले जानकारी दिए । सदस्यहरूमा खसआर्य महिलामा दुर्गा रेग्मी शर्मा, निर्मला सापकोटा, राधा भण्डारी निर्वाचित भएका छन् । खसआर्य प्रत्यक्षतर्फ खगेन्द्र नगाल, दुर्गबहादुर खत्री, मोहनसिंह थापा, क्षेत्रमणि गिरी निर्वाचित भए । आदिवासी जनजाति महिलाबाट तेजकुमारी गुरूङ सदस्यमा निर्वाचित भएकी हुँदा आदिवासी जनजाति प्रत्यक्षबाट टेकबहादुर गुरूङ, तिलकबहादुर मर्साङ्गी मगर निर्वाचित भएका छन् ।

यस्तै, दलित महिला सदस्यमा चन्द्राकुमारी नेपाली र लिलमति विक, दलित प्रत्यक्षमा देवबहादुर सार्की र नरबहादुर सुनार निर्वाचित भएका हुन् । अल्पसंख्यक वा अपाङ्गता कोटामा बालाराम पोखरेल निर्वाचित भएका छन् । पालिकाबाट जिल्ला कार्यसमितिमा आउने सदस्यहरूमा सिम्ता गाउँपालिकाबाट प्रत्यक्ष महिलामा भिमा मल्ल, प्रत्यक्षमा राजेन्द्रकुमार सिंह निर्वाचित भएका छन् ।

चिङ्गाड गाउँपालिकाबाट प्रत्यक्ष महिलामा तुल्सा शर्मा, प्रत्यक्षमा पदमबहादुर वली निर्वाचित भएका छन् । बराहताल गाउँपालिकाबाट महिलामा लक्ष्मी पुन मगर र प्रत्यक्षमा तुलादेव भारती निर्वाचित भएका छन् । भेरीगंगा नगरपालिकाबाट महिलामा भक्तिकुमारी डांगी, प्रत्यक्षमा सुरेन्द्र केसी र हरिप्रसाद कंडेल निर्वाचित भएका छन् । लेकवेशी नगरपालिकाबाट महिलामा खिला पौडेल, प्रत्यक्षमा नरेन्द्रबहादुर खत्री र भूपेन्द्रबहादुर खड्का निर्वाचित भएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाबाट महिलामा रूपा श्रेष्ठ, प्रत्यक्षमा कर्णबहादुर राना र पूर्णबहादुर ढकाल निर्वाचित भएका छन् भने पञ्चपुरी नगरपालिकाबाट महिलामा ज्ञानुकुमारी कंडेल, प्रत्यक्षमा नरेन्द्रबहादुर शाही र भक्तिप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । चौकुने गाउँपालिकाबाट महिलामा सुमित्रा जोशी, प्रत्यक्षमा तारा देवकोटा निर्वाचित भएका छन् । जिल्ला कार्यसमिति चयन गर्दा आउने प्रदेश अधिवेशन प्रतिनिधिमा अपाङ्गताबाट रामबहादुर शाही निर्वाचित भएका छन् भने केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ललितबहादुर वली निर्वाचित भएका छन् । कांग्रेसको १४औं अधिवेशनबाट सुर्खेतका सबै कार्यसमितिमा संस्थापन पक्षको वर्चश्व कायम भएको छ ।

जिल्लाका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र, चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि संस्थापन पक्षले नेतृत्व लिएको छ । यस्तै, नौ पालिकामध्ये आठ वटामा र ९९ वडामध्ये ८६ वटामा संस्थापन पक्ष हाबी भएको छ ।

प्रकाशित मितिः   १४ मंसिर २०७८, मंगलवार ०९:४३