सुर्खेतमा पोखरेल, दैलेखमा रेग्मी

सुर्खेत: नेपाली कांग्रेस सुर्खेतको सभापतिमा खड्क पोखरेल निर्विरोध निर्वाचित भएका छन् । सभापतिमा उनको एकल उम्मेदवारी परेको हो । पोखरेल कांग्रेसको संस्थापन पक्षका नेता हुन् ।

सभापतिमा निर्विरोध भए पनि अन्य पदका लागि भने निर्वाचन भएको छ । सभापतिबाहेकका पदमा संस्थापन र संस्थापनइतर समूह प्यानल बनाएर चुनाव लडेका छन् । आइतवार मतदान भएको छ ।

संस्थापन पक्षबाट उपसभापतिमा विष्णुबहादुर खड्का र टोपबहादुर रावत उम्मेदवार छन् । यस्तै सचिवमा देवकुमार सुवेदी र बालदिप कंडेल तथा उपसचिवमा हरि विष्ट र प्रकाश डिसीको उम्मेदवारी परेको छ ।

संस्थापनइतर समूह भने यसपटक सभापतिको उम्मेदवारविहीन भयो । कांग्रेसको विधानअनुसार सभापतिको उम्मेदवार हुन महाधिवेशन प्रतिनिधि हुनुपर्दछ । तर उक्त समूहबाट एक जना पनि महाधिवेन प्रतिनिधिमा विजयी नभएपछि सभापतिका लागि उम्मेदवार नै नपाएको हो । सभापतिबाहेकका पदमा भने सो समूहले उम्मेदवारी दिएको छ । उपसभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा भीमबहादुर शाही र लोकबहादुर पन्तले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैबीच नेपाली कांग्रेस दैलेखको सभापतिमा मणिराम रेग्मी निर्वाचित भएका छन् । रामचन्द्र पौडेल समूहका रेग्मीले संस्थापन समूहका घनश्याम भण्डारीलाई पराजित गरेका हुन् । रेग्मीले सात सय ९१ मत प्राप्त गर्दा भण्डारीले सात सय ५४ मत प्राप्त गरेका छन् ।

अन्य पदाधिकारीमा पनि रेग्मीकै प्यानल विजयी भएको छ । उप–सभापतिमा नवराज शाही र रिताकुमारी शाही, सचिवमा खेमराज वली र नारायणप्रसाद रेग्मी तथा उप–सचिवमा कनकबहादुर सेन ठकुरी र महेन्द्रबहादुर शाही विजयी भएका हुन् ।

प्रकाशित मितिः   १३ मंसिर २०७८, सोमबार १०:२७