अज्ञात रोगले दुइको मृत्यु, स्वास्थ्य कार्यालय बेखबर


साझा बिसौनी स‌वाददाता
सुर्खेत, २६ फागुन ।
सुर्खेतको लगाममा पहिचान नभएको रोगका कारण गाउँ नै थला परेको छ । एक साता अघिदेखि गाउँमा फैलिएको संक्रमणका कारण दुई जनाको ज्यान गएको छ । यस्तै दर्जनौ व्यक्तिहरु बिरामी भएका छन् । गाउँमा अहिलेसम्म स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । लगाम गाविसको वडा नं ५ तालागाउँमा फैलिएको संक्रमणका कारण स्थानीय ७५ वर्षका मानसिंह साँवद र ५८ वर्षका खड्कबहादुर साँवदको ज्यान गएको छ । 
उनीहरु दुबै जनाको मंगलबार साँझ ज्यान गएको स्थानीय समजी प्राविका प्रधानाध्यापक तोजबहादुर खड्काले जानकारी दिए । उनका अनुसार बिरामीहरुमा वान्ता हुने, ज्वरो आउने, रिङ्गटा लाग्ने, खान मन नलाग्ने, पेट दुख्ने र रुघाखोकीको जस्तो लक्षणहरु देखिएका छन् । करिब ५८ वटा घर रहेको उक्त गाउँका हरेक घरका सदस्यहरु बिरामी रहेको र पुरै गाउँ नै थला परेको समेत प्रअ खड्काले बताए ।
 गाउँ नै थला परेपछि विद्यालय समेत बन्द गर्नुपर्ने अवस्था आएको शिक्षक देवबहादुर साँवदले बताए । एक सातादेखि रोगको संक्रमण भएपनि स्थानीयले सामान्य रुघाखोकी भन्दै उपचारमा ध्यान नदिदा गाउँ नै थला परेको शिक्षकहरुले बताएका छन् । गाउँका सबै जसो एकाएक बिरामी हुन थालेपछि स्थानीयले सिटामोल खाएका थिए । तर, सिटामोलले काम नगरेको र बिरामीहरुको ज्यान नै जान थालेको भन्दै शिक्षक खड्काले डाक्टर र औषधिको व्यवस्था गरिदिन आग्रह गरे । 
 उनले टेलिफोनमार्फत भने,‘अहिले गाउँनै थला परेको छ, हरेक घरमा तीनदेखी चारजना बिरामी छन् । स्वास्थ्यचौकी पुग्न पाँच घण्टा पैदल हिँड्नु पर्छ, हामीसँग खल्तीमा भएको सिटामोल पनि सकियो ।’ डोटी र अछामको सिमानासँग जोडिएको प्रभावित क्षेत्रमा अहिलेसम्म स्वास्थ्यकर्मी पनि पुग्न सकेका छैनन् । 
 जसका कारण स्थानीयले महामारी फैलिन सक्ने भन्दै तत्काल स्वास्थ्यकर्मी पठाउन हारगुहार गरेका छन् ।
संक्रमणका कारण बालबालिका र बृद्धबृद्धाहरु बढी प्रभावित भएका छन् । हरेक घरमा बिरामी भएपछि उनीहरुलाई स्याहार गर्न समेत समस्या भएको छ । यता जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले भने संक्रमणको बारेमा जानकारी नभएको जनाएको छ । 
कार्यालयका प्रमुख बसन्त अधिकारीले भने,‘रोगको बारेमा हामीलाई जानकारी छैन, हामी तत्काल यसबारेमा जानकारी लिन्छौं ।’ साथै उनले आफूहरुले वास्तविकता बुझेर तत्काल प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र औषधि पठाउने बताए ।  
प्रकाशित मितिः   २६ फाल्गुन २०७२, बुधबार ०८:३१