दिवसको सार्थकता

विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । यसरी हरेक साल नारी दिवस एक वर्ष पुरानो हुन्छ अनि विश्व इतिहासमा पनि महिलाले हासिल गरेका उपलब्धि र स्थापना गरेका कीर्तिमानमा एक सानो अध्याय थपिन्छ । तर दिवसको उपयोग कुनै सार्थक काम गरेर भन्दा पनि औपचारिकतामा सीमित राख्ने गरिएको समेत गुनासो सुनिने गरिन्छ । महिला समानता अर्थात् महिला अधिकारको आवाज उठाएको शताब्दी बितिसक्दा पनि महिलाप्रति गरिने सबै पक्षका विभेदको उन्मूलनको दिशामा विश्व बामे मात्र सर्दै रहेको तथ्य खोज्न टाढा जानुपर्दैन । हरेक मुलुकका कानुनहरूले, संस्कारहरूले महिलाको अधिकारको परिभाषालाई पुरुष प्रधान पारेकै छन् । तर तुलनात्मक रूपमा हेर्दा शताब्दी अघि असम्भव मानिएका कतिपय सम्भावनाहरू आजका महिलाहरूले सम्भव गराउने श्रेय त एक शताब्दी अगाडि  केही आँटी र चेतनशील महिलाहरूले उठाएको आवाजको गुन्जनलाई मान्न सकिन्छ । कमसेकम वर्षमा एक दिन भए पनि मनाउँदै आएको अन्तर्राष्ट्रिय नारी दिवसले आ–आफ्नो परिवेशलाई नारी अधिकार बारे झस्काउन सफल भएको छ ।
नारी अधिकारको चेतनाको सुरुवातको अतितलाई कोट्याएर हेर्न खोज्दा सय वर्षपछि फर्किनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय नारी दिवसको सुरुवात १९ सौं शताब्दीको आरम्भदेखि सुरु भएको हो । सन् १९०८ देखि मनाउन थालिएको अन्तर्राष्ट्रिय महिला वा नारी दिवस अस्ट्रेलियामा भने सन् १९२८ देखि नै आरम्भ भएको थियो । सन् १९०८ मा सामाजिक विचारधाराका अमेरिकी महिलाहरूले पहिलो नारी दिवसको आयोजना गरेर अन्तर्राष्ट्रिय नारी आन्दोलनलाई प्रेरित गरेका थिए ।  महिलाको राजनीतिक र आर्थिक क्षेत्रमा समानता अनि मत दिन पाउनुपर्ने भनि हजारौंको संख्यामा महिलाहरू सडकमा उत्रिएका थिए । यसैको असर स्वरूप सन् १९०९ मा कपडा उद्योगमा कामगर्ने महिला कामदारहरूको ठूलो समूहले जाडो महिनाको १३ हप्तासम्म पुरुष सरह ज्याला र काम गर्ने वातावरणको सुधारको लागि आम हड्ताल गरेका थिए । समाजवादी विचारधारा भएकी अमेरिकी लिना लुइसले सन् १९१० मा एउटा वक्तव्य निकाली ‘नारी दिवस भनेको कुनै कुराको उपलब्धिको खुशी मनाइएको हैन, तर यो दिन भविष्यमा पुरुषले नारी भन्दा आफूलाई उच्च मान्ने र नारीप्रति शासन जमाउने प्रथाको अन्तसम्मको लागि गर्नुपर्ने सङ्घर्षलाई निरन्तरता दिन सम्झाउने दिन हो’ भनेकी थिइन् । लिना लुइसले भनेको त्यो तथ्यको एकसय वर्ष बितिसक्न आट्ता पनि विश्वको त कुरै नगरौं अहिलेसम्म पनि पुरुषले आफूलाई उच्च मान्ने र उनीहरूमाथि कुनै न कुनै प्रकारले शासन गर्ने प्रथाको शतप्रतिशत उन्मूलन भएको देश भेट्न गाह्रो पर्छ भन्दा झुठो दाबी ठहरिँदैन । 
यसरी पुरुषले आफूलाई उच्च ठान्ने र महिलालाई कुनै न कुनै तरिकाले शासन गर्ने मात्रा, पद्दति र त्यसको परिमाणमा ठाउँ, समाज, परिस्थिति अनुसार फरक पर्ला तर त्यसको अस्तित्व नै नभएको चाहिँ भन्न सकिँदैन । हुनत तुलनात्मक रूपले हे¥यो भने विगत सय वर्षयता समाजमा महिलाको स्थानमा परिवर्तन नै नआएको त भन्न मिल्दैन तर जति हुनुपर्ने हो त्यति नभएको यथार्थ हो । पछिल्लो समय आफ्नो अधिकार, हिंसाको अन्त्य र महिला समानता तथा सहभागिताको वकालत गर्दै महिलाहरू नै सङ्घर्षमा उत्रिन थालिसकेका छन् । त्यसको प्रभाव नीति निर्माणको तहमा समेत पर्दै गएको छ । यसलाई निरन्तरता दिदैं हरेक वर्ष मनाइने नारी दिवसलाई पनि उपलब्धिमूलक र सार्थक बनाउनेतर्फ ध्यान दिन जरुरी छ ।
प्रकाशित मितिः   २६ फाल्गुन २०७२, बुधबार १०:३७