गंगाको हिम्मत

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ फागुन ।
माइतीमा छँदा पनि गंगाले निकै दुःख गरिन् । घरको आर्थिक अवस्था कमजोर थियो । त्यसैले पनि उनले सानो उमेरदेखि नै श्रम गर्नुप¥यो । त्यसको प्रभाव होला उनी अहिलेसम्म पनि परिश्रम र मिहिनेत गरिरहेकी छिन् । फलस्वरूप थुप्रै चुनौतीहरूलाई पार लगाउँदै सफल उद्यमी बन्न पुगेकी छिन् । 
तीन वटा चाउमिन उद्योगको मालिक गंगा कुनै बेला डोकोमा तरकारी राखेर बेच्न हिँड्थिन् । गाउँबाट डोकोभरी फलफूल तथा कुखुरा बोकेर सदरमुकाम वीरेन्द्रनगर आउँथिन् र बेचेर घर फर्किन्थिन् । उनको घर खर्च चलाउने आम्दानीको स्रोत त्यही मात्र थियो । वि.सं. २०५५ देखिन भने उनी वीरेन्द्रनगरमै बस्न थालिन् । ठूलो व्यवसायमा लगानी गर्नका लागि उनीसँग पैसा थिएन । भनेको बेला ऋण दिने पनि कोही थिएनन् । त्यसैले उनले थोरै लगानीमा भए पनि व्यवसाय सुरु गर्न थालिन् । वीरेन्द्रनगरमा बस्न थालेपछि उनले साइकलमा तरकारी राखेर बेच्न थालिन् । बजारभरी डुलेर तरकारी बेच्थिन्, खर्च कटाएर बचत गर्थिन् । 
तरकारी बेचेरै उनले केही रकम जम्मा गरिसकेकी थिइन् । त्यसपछि उनले होटल व्यवसाय सुरु गरिन् । त्यतिबेला उनले नौ सय रूपैयाँ लगानी गरेर होटल सुरु गरेकी थिइन् । होटल राम्रै चलेको थियो । आम्दानी पनि पहिलोभन्दा बढी हुन्थ्यो । करिब १२ वर्ष उनले होटल चलाएर बसिन् । त्यहाँबाट भएको आम्दानीले जग्गा किनिन् र घर समेत बनाइन् । त्यसबीचमा उनले विवाह समेत गरिन् । सुर्खेतको कल्याणमा जन्मिएकी उनले रुकुममा विवाह गरिन् । विवाहपछिका केही वर्ष राम्रैसँग बिते पनि त्यसपछि भने श्रीमान्सँग खटपट हुन थाल्यो । उनी भन्छिन्, ‘मैले व्यवसायबाट आम्दानी लिन थालेपछि त्यसको आरिस गर्ने, काममा जाँदा आशंका गर्ने र कसैसँग बोल्दा समेत शंका गर्न थालेपछि सम्बन्धमा दरार उत्पन्न भयो ।’ पाँच सन्तानकी आम गंगाको साथमा अहिले कान्छी छोरी मात्र छिन् । उनी बोर्डिङ्ग स्कुलमा पढ्छिन् । अन्य चार छोरी विवाह गरेर आ–आफ्नो घरमा छन् ।
घर बनाएपछि गंगाले होटल व्यवसाय छोडिन् । उनी बाँकी जीवन आरामसँग बिताउने योजनामा थिइन् । तर बचपनदेखि नै परिश्रम र मिहिनेत गर्दै आएकी उनी खाली बस्न सकिनन् । बरु व्यवसाय परिवर्तन गरेर फेरी काममा नै जुटिन् । उनलाई फेरि होटल व्यवसाय गर्न मन थिएन तर कुन व्यवसाय गर्ने भन्ने निर्णयमा पुगिसकेकी पनि थिइनन् । उनका धर्मभाइ थिए दानबहादुर रोकाय । उनैले सुर्खेतमा चाउमिन उद्योग चल्नसक्छ भनेर सुझाएपछि गंगाले पनि चाउमिन उद्योग सञ्चालन गर्ने निर्णय गरिन् । त्यतिबेला सुर्खेतमा एउटा मात्र चाउमिन उद्योग थियो । होटल गर्दा दाङबाट चाउमिन आउँथ्यो । उनले त्यही चाउमिन थुप्रै पटक बेचेकी थिइन् । त्यसपछि दाङमा चाउमिन उद्योग सञ्चालन गरेका कृष्ण अधिकारीसँग उनले उद्योग सञ्चालनबारे बुझिन् । उनले पनि चाउमिन उद्योगबाट राम्रो आम्दानी लिन सकिने बताएपछि पाल्पा पुगेर तालिम लिइन् । 
वि.सं. २०६७ सालमा वीरेन्द्रनगरमा साइनो चाउमिन तथा सस उद्योग स्थापना गरेकी गंगाले त्यसको एक वर्षपछि दैलेखको चुप्रा र दुई वर्षपछि सुर्खेतकै लेखफर्सामा पनि चाउमिन उद्योग स्थापना गरिन् । साढे ७ लाख रूपैयाँको लगानी गरेर उद्योग स्थापना गरेकी उनले आफू मात्रै आत्मनिर्भर भइनन् हालसम्म एक सय १३ जनालाई रोजगारी समेत दिइसकेको जानकारी दिइन् । अहिले भने उनीको उद्योगमा १३ जनाले प्रत्येक्ष रोजगारी पाएका छन् । 
यहाँसम्म आइपुग्दा गंगाले थुप्रै चुनौतीहरू बेहोरेकी छिन् । एकातर्फ महिलालाई हेर्ने दृष्ट्रिकोण अझै पूर्ण रूपमा बदलिएको छैन, अर्कोतर्फ महिलाहरूले मात्र केही गर्न सक्दैनन् भन्ने सोच समाजमा कायमै छ । त्यसमाथि श्रीमान् र परिवारबाटै सहयोग नपाउँदा पनि हिम्मत नहारी उनी अघि बढिन् । हुन त उनीसँग अहिले पनि १३ जना कामदार छ । तर कामको चाप बढेको बेला उनी आफै दौडिन्छिन् । आफै चाउमिन बोकेर पु¥याउन जान्छिन् । सुरुमा–सुरुमा उनका कुरा काट्ने धेरै थिए । ग्राहकसँग बोल्दा पनि आशंका 
गर्थे । तर विस्तारै सबैले बुझ्दै गए । अहिले पनि उनलाई सबैले विश्वास गर्न थालेका छन् । ‘सुरु–सुरुमा त मेरो चरित्रमाथि नै औंला उठाउनेहरू पनि थिए’ उनी भन्छिन्, ‘म गलत थिइनँ, आफ्नो बाटोमा हिँडिरहें । अहिले सबैले चिने र विश्वास गर्छन् ।’
उनले कतिसम्म चुनौती सामना गर्नुप¥यो भने, घर बनाउन र व्यवसायलाई थप विस्तार गर्नका लागि उनले ऋण लिने विचार गरिन् । विभिन्न बैंकहरूमा चहारिन् तर कसैले ऋण दिएन । ऋण दिनका लागि बैंकहरूले 
हकवालाको रूपमा श्रीमान्, छोरा वा नागरिकता भएकी छोरी चाहिने शर्त राखे । तर गंगासँग ती तिनै थिएनन् । उनी श्रीमानसँग छुट्टिएर बसेकी थिइन् । छोरा थिएन । चार जना छोरीहरू विवाह गरेर आ–आफ्नै घर गइसकेका थिए भने उनीसँग भएकी कान्छी छोरीको नागरिकता बनाउने उमेर पुगेकै थिएन । तर उनी निराश भइनन् । केही बैंकहरूले ऋण दिन नमाने पनि सुर्खेतमै प्रधान कार्यालय भएको काँक्रेविहार विकास बैंकले भने उनलाई ऋण दियो । त्यसबाट उनले व्यापार विस्तार गर्नुका साथै घर निर्माण गरेकी थिइन् ।
चाउमिन तथा सस उद्योगबाट अहिले मासिक ३५ हजार भन्दा बढी आम्दानी हुने गरेको गंगाले बताइन् । उनी चाउमिन उद्योगलाई आधुनिकीकरण गर्ने योजनामा छिन् । भन्छिन्, ‘परम्परागत प्रविधिलाई विस्तारै विस्थापित गरी आधुनिक प्रविधिबाट उद्योग सञ्चालन गर्ने तयारीमा छु ।’ व्यवसायले नै आफूलाई आत्मनिर्भर बनाएको उनी बताउँछिन् । व्यवसायमा सफल हुन मिहिनेत र लगनशीलता भने हुनुपर्ने गंगाको बुझाइ छ । आफू आत्मनिर्भर हुनसके आँट र साहस पनि आउने भन्दै उनी कसैका सामु झुक्नु समेत नपर्ने बताउँछिन् । महिलाहरूले केही गर्न सक्दैनन् भन्ने सोचविरुद्ध उनी खरो रूपमा उत्रिन्छिन् । किनभने उनी आफ्नै मिहिनेतले सफल बनेकी उद्यमी हुन् । महिलाहरू घरायसी काममा मात्र सीमित नभइ बाह्य काम र व्यवसाय गर्न पनि सक्षम छन् भन्ने गतिलो उदाहरण हुन्, गंगा ।
प्रकाशित मितिः   २५ फाल्गुन २०७२, मंगलवार ०८:१७