भोकमरीको भय
कर्णाली प्रदेशकमा बर्सेनि खाद्य समस्या निम्तिन्छ । विशेष गरी उच्च हिमाली जिल्लामा भोकमरीले सताउँछ । प्रदेशभित्र पर्याप्त उत्पादन नहुँदा बाहिरबाट आपूर्ति गर्नुपर्ने अवस्था छ । हरेक वर्ष ठूलो परिमाणमा खाद्यान्न आपूर्ति हुने गरेको छ । खाद्यान्न मात्रै होइन तरकारी र फलफूल पनि आयात हुन्छ । त्यसो त कर्णालीका आम नागरिक अधिकतर कृषिमै निर्भर छन् । तर यहाँको कृषि निर्वाहमुखी छ । वर्षमा दुई बाली लगाउँदा पनि वर्षभरी पुग्ने उत्पादन हुँदैन । जसले गर्दा आपूर्ति अनिवार्य छ । यहाँ २८ प्रतिशतभन्दा बढी घरधुरी खाद्य सुरक्षाका दृष्टिले जोखिममा रहेको अध्ययनले देखाएको छ । उनीहरूलाई आधारभूत खाद्य तथा गैर खाद्य आवश्यकता परिपूर्ति गर्न बाह्य सहायताको आवश्यकता देखिन्छ ।
यो वर्ष पनि हिमाली जिल्लामा भोकमरीको जोखिम बढेको छ । हुम्लाको लिमी गाउँमा चरम खाद्य संकट देखिएको छ । गाउँमा वर्षमा एक बाली मात्र उब्जनी हुन्छ । जसले वर्षभरी पुग्दैन । चीनसँग सीमा जोडिएको गाउँ भएकोले स्थानीयहरूले अपुग खाद्यन्न चीनबाट आयात गर्दै आएका थिए । तर, चीन सरकारले कोरोना महामारी देखाउँदै सीमा नाका बन्द गरेको छ । विगत दुई वर्षदेखि छिमेकी चीनको ताक्लाकोटबाट खाद्य तथा अन्य सामग्री आउन बन्द भएको छ । लिमीका तीन गाउँ तील, हल्जी र जाँङका बासिन्दाका लागि ६ देखि आठ महिना पुग्ने खाद्यान्न ताक्लाकोटबाट ल्याउने गरिएको थियो । तर कोरोनाका कारण स्थानीयले चीनबाट किन्न पाएका छैनन् । अर्कोतर्फ सरकारले उपलब्ध गराउँदै आएको अनुदानको चामल पनि विगत एक वर्षदेखि लिमीमा पुगेको छैन । यसअघि पनि बिरलै मात्र खाद्यान्न लिमीमा पुग्थ्यो । गतवर्षको कार्तिक महिनामा चार सय क्वीन्टल खाद्यन्न लिमी पुगेको थियो । त्यसयता लिमीमा खाद्यान्न पुगेको छैन ।
खाद्यन्न संकट भएपछि लिमीका नागरिक सरकारको ध्यानाकर्षण गराउन सदरमुकाम पुगेका छन् । हिउँ छिचोल्दै चार दिन हिँडेर सिमकोट पुगेका लिमीबासीले प्रदेश र संघ सरकारलाई आफूहरूको समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन् । वर्षौदेखि खाद्यान्न समस्या हुँदै आएपनि सरकारले उचित कदम भने चालेको छैन । समस्या समाधानको दीर्घकालीन योजना बनाइएको छैन । नागरिक भने सधैं भोकमरी संकट सामना गर्न बाध्य छन् । आफ्ना नागरिकको गास, बास र कपासजस्ता आधारभूत र मौलिक हक सुनिश्चित गर्न राज्य जिम्मेवार हुन जरुरी छ ।
प्रकाशित मितिः ९ मंसिर २०७८, बिहीबार ०५:००
सम्पादकीय ।