जहाँ दृष्टि फर्काइन्छ

आँखा नदेखेर घरमै थलिएकाहरूले अप्रेसनपछि संसार नियाल्न पाएका छन् । सुर्खेत आँखा अस्पतालले हरेक वर्ष हजारौंको ज्योति फर्काउने गरेको छ ।

सुर्खेत: बुढेउलीले छोएपछि आँखामा समस्या देखिन थाल्यो । दृष्टि विस्तारै धमिलो हुँदै गयो । चौकुने गाँउपालिका–३ कि ६६ वर्षीया तुलसी रानाले आँखाको भर पाउन छोडिन । ‘पाँच वर्ष भयो आँखामा जालो लागेजस्तो हुन्थ्यो । नजिकैको मान्छे पनि ठम्याउन नसक्ने भएकी थिएँ,’ मोतिबिन्दुको अप्रेसनपछि भेटिएकी रानाले भनिन्, ‘आँखा खोलेपछि टाढासम्म प्रस्टै देख्छु ।’ दुवै आँखा निकै कमजोर भएपछि राना एक साताअघि वीरेन्द्रनगरस्थित आँखा अस्पतालमा आइन् । चेकजाँच भयो । डाक्टरको सल्लाहअनुसार आइतवार उनको मोतिबिन्दुको अप्रेसन गरियो । ‘गुमेको ज्योति फर्कियो,’ आँखा अस्पतालको आँगनमा भेटिएकी उनी भन्छिन्, ‘यस्तो देख्न सक्ने भइएला सोचेकै थिइन । मेरा लागि डाक्टर भगवानै भइदिए ।’ उनको दायाँ आँखाको अप्रेसन गरिएकोे हो । डाक्टरले बायाँ आँखा पनि केही महिनापछि अप्रेसन गर्नुपर्ने बताएका छन् ।

चौकुनेकै शेरबहादुर बन्तोला पनि मोतिबिन्दुको समस्याले केही वर्षदेखि आँखा राम्ररी देख्थेनन् । ६० वर्षीय उनको बायाँ आँखाको ज्योति गुमेको थियो । अप्रेसनपछि उनको दृष्टि फर्किएको छ । ‘अहिले छर्लङ्गै देख्ने भएको छु,’ उनले भने, ‘बाँचुञ्जेल अन्धकारै हुन्छ कि भन्ने चिन्ता हटेर गयो ।’ आँखा देख्न छोडेका बन्तोलालाई घर बाहिर निस्कनै गाह्रो थियो । सहाराविना हिँड्डूल गर्नसमेत कठिन हुन्थ्यो । आँखाको ज्योति आएपछि अर्कै जीवन पाएझैं भएको उनले सुनाए ।

राना र बन्तोला प्रतिनिधि पात्र हुन् । आँखा नदेखेर घरमै थलिएका वृद्धवृद्धाले अप्रेसनपछि संसार नियाल्न पाएका छन् । सुर्खेत आँखा अस्पतालले हरेक वर्ष हजारौंको ज्योति फर्काउने गरेको छ । शिविरहरूबाट दिइने आँखा उपचार सेवाले विपन्न नागरिकहरूलाई झनै राहत मिलेको हो । अस्पताल प्रशासनका अनुसार तीन वर्षको अवधिमा अस्पताल तथा शिविरबाट ६ हजार ६ सय ५० जनाको मोतिबिन्दुको अप्रेसन गरिएको छ । मोतिबिन्दु रोगले सताएका उनीहरू राम्रोसँग देख्ने भएका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा अस्पतालबाट एक हजार २७ र सोही वर्ष शिविरमार्फत एक हजार तीन सय ३१ जनाको मोतिबिन्दुको अप्रेसन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा अस्पताल र शिविर गरी एक हजार चार सय ६६ जनाको अप्रेसन गरिएको हो । अघिल्लो आर्थिक वर्षदेखि यो अवधिसम्म दुई हजार चार सय १६ लाई अस्पतालबाट र ६ सय १७ जनालाई शिविर सञ्चालन गरी सेवा दिइएको अस्पतालले जनाएको छ । गएका तीन वर्षमा एक लाख पाँच हजार चार सय ३० जनालाई बहिरङ्ग सेवा दिइएको अस्पतालका व्यवस्थापक घनबहादुर थापाले जनाए । उनका अनुसार अस्पतालमा दिनहँु दुई सयको संख्यामा आँखाको उपचारका लागि आउने गरेका छन् । अस्पतालले मोतिबिन्दुको समेत दैनिकजसो अप्रेसन गर्दै आएको छ । ‘दिनमा २० जना जतिले अप्रेसन सेवा पनि लिइराख्नु भएको छ,’ व्यवस्थापक थापाले भने, ‘गुणस्तरीय सेवा दिन सकिएकाले सेवा लिनेको संख्या बढ्दो छ ।’

चिकित्सकहरूका अनुसार पछिल्लो समय आँखाका बिरामीहरू बढ्दै गएका छन् । त्यसमध्ये अधिकांशमा मोतिबिन्दुको समस्या देखिने गरेको छ । अस्पताल निर्देशक डा. शक्तिप्रसाद सुवेदी ८० प्रतिशत बिरामी मोतिबिन्दुको समस्या ल्याएर आउने गरेको बताउँछन् । कर्णाली प्रदेशमै आँखा उपचारका लागि सुविधासम्पन्न यो अस्पतालमा बिरामीको चाप अधिक छ । प्रदेशका १० वटा जिल्लाबाट मात्र नभइ अन्यत्रबाट पनि बिरामी आउने गरेको सुवेदीले जनाए । उनका अनुसार सुर्खेत आँखा अस्पतालमा बाँके, बर्दिया लगायतका जिल्लाबाट सेवा लिन आउनेहरू पनि छन् । सामुदायिक अस्पताल भए पनि यहाँ पर्याप्त भौतिक पूर्वाधार छन् भने अत्यधुुनिक उपकरण र विशेषज्ञसहितको सेवा दिइएको छ । अस्पतालले विभिन्न संघ–संस्थासँगको सहकार्यमा दुर्गम र विपन्न बस्तीमा शिविर सञ्चालन गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटी सुर्खेतद्वारा सञ्चालित अस्पताल वि.सं. २०४६ सालमा स्थापना भएको हो । प्राथमिक जाँच केन्द्रका रूपमा सुरू गरिएको सेवा विस्तार गरी हाल अस्पताल बनाइएको छ । सुर्खेतमै आँखासम्बन्धी गुणस्तरीय सेवा पाइने भएपछि प्रदेशका नागरिकलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

प्रकाशित मितिः   ८ मंसिर २०७८, बुधबार ०९:१५