सडक स्तरोन्नति अपरिहार्य

विकासका लागि सडकलाई पहिलो पूर्वाधार मानिन्छ । यसले यातायातलाई मात्रै सहज बनाउँदैन, विकासका अन्य पूर्वाधार भिœयाउन पनि उत्तिकै महङ्खवपूर्ण भूमिका खेल्दछ । त्यसैले विकासको प्राथमिक पूर्वाधार हो, सडक । र, विकास ओसार्ने माध्यम पनि । तर, त्यही सडक भरपर्दो नभइदिँदा सुविधाभन्दा सास्ती बढी हुने नै भयो । यस्तै समस्या झेल्दै छन्, धुलियाबिट–भेडाबारी सडक खण्ड आसपासका बासिन्दाहरू । त्यो पनि दशकौंदेखि । सडक गतिलो नभएकाले अन्य विकास निर्माणमा बाधा पुगेको छ ।

सुर्खेतको धुलियाबिट–भेडाबारी सडकको ट्रयाक खोलिएको चार दशक बित्यो । वि.सं. २०३६ सालमै निर्माण थालेको सडक अहिले पनि विजोग अवस्थामा छ । केही वर्षअघि ग्राभेल गरिए पनि अहिले ट्रयाक खोल्दाको अवस्थाकैजस्तो बनेको छ । आवश्यक स्तरोन्नतिको अभावमा यसको रूप बदलिएको छैन । जिल्लाकै पुरानोमध्येको सडकको आज पनि उही हालत छ, जस्तो ट्रयाक खोल्दा बनेको थियो । थप जीर्ण बन्दै गएको छ । धेरै बस्ती छुने र नियमित प्रयोग हुने सडक हो, यो । तर हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे यही मार्ग भएर यात्रुहरू ओहोर–दोहोर गर्छन् । चार दशक बिते सास्ती भने हटेको छैन । यो खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत पर्छ । सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ । तर, स्तरोन्नति कहिले हुन्छ अझै अन्योल छ ।

पछिल्लो समय पूर्वाधार विकासका नाममा धेरै सडक निर्माण भएका छन् । तर एकपटक बनाइएका सडकको नियमति मर्मत तथा स्तरोन्नति भने हुँदैन । जसले गर्दा सुविधाभन्दा सास्ती हुने गरेको छ । दीर्घकालीन महङ्खवका ठूला सडकहरू झन दशकौंदेखि अलपत्र अवस्थामा छन् । नागरिकको सुविधाका लागि बनाइएका सडक सुधार नहुँदा त्यसले प्रत्यक्ष रूपमा नागरिककै स्वास्थ्यमा नोक्सान पु¥याउने गर्दछ । बस्तीभित्रबाट बनाइएका सडकबाट उत्पादन हुने धुलो नागरिक स्वास्थ्यका लागि प्रतिकूल छ । त्यसकारण पनि आवश्यकताअनुसार सडक निर्माणसँगै त्यसको स्तरोन्नति र सुधारमा सम्बन्धित पक्षको ध्यान जान जरुरी छ । ट्रयाक खोलेर मात्रै दायित्व पूरा हुँदैन, त्यसले नागरिकलाई कति सुविधा दिएको भन्ने कुराको पनि उत्तिकै ख्याल गर्नु अपरिहार्य छ । यसको बोध राज्यलाई हुनैपर्दछ ।

प्रकाशित मितिः   ८ मंसिर २०७८, बुधबार ०५:००