पढाइ रोकेर पार्टीको अधिवेशन

सुर्खेत: विद्यालय शान्ति क्षेत्र हुन् । यहाँ राजनीतिक दलका गतिविधि गर्न पाइँदैन । तर, नेताहरूले भने दबाब र पहुँचका भरमा विद्यालयलाई राजनीतिका अखडा बनाएका छन् । पठनपाठन नै बन्द गराएर दलहरूले आफ्ना गतिविधि सञ्चालन गर्ने गरेका हुन् । पार्टीका अधिवेशन गर्ने स्थलको रूपमा विद्यालयको प्रयोग हुँदै आएको हो ।

विद्यालयमा हुने दलका गतिविधिको विरोध गर्नुको साटो व्यवस्थापन समिति, शिक्षक र अभिभावकसमेत मूकदर्शक बन्ने गरेका छन् ।

यतिबेला नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तल्लो तहका कार्यसमितिको नेतृत्व चयनका लागि अधिवेशन चलिरहेको छ । कांग्रेसले अधिवेशनको उपयुक्त ठाउँका रूपमा विद्यालय नै रोज्ने गरेको छ । हाताभित्र पार्टीका अधिवेशन आयोजना गरिएपछि विद्यार्थीको पठनपाठनमा असर पर्ने गरेको छ ।

केही दिन पहिले वीरेन्द्रनगर–३ स्थित हरिडिलभूमि माध्यमिक विद्यालयमा कांग्रेसले वडा अधिवेशन ग¥यो । विद्यालय बन्द भयो । पढ्न आएका विद्यार्थी घर फर्किए । मंगलवार पञ्चपुरी नगरपालिका–५ बाबियाचौरको विद्याज्योति माध्यमिक विद्यालयमा कांग्रेसले नै क्षेत्रीय अधिवेशन आयोजना गर्दा त्यहाँका विद्यार्थी पनि मर्कामा परेका छन् । पठनपाठन पूर्णरूपमा प्रभावित भएको छ ।

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिकाको प्रावधानलाई लत्याउँदै शिक्षालयभित्र राजनीतिक गतिविधि भइरहेका हुन् । विद्यालयमा आयोजना हुने दलका गतिविधिको विरोध गर्नुको साटो व्यवस्थापन समिति, शिक्षक र अभिभावकसमेत मूकदर्शक बन्ने गरेका छन् । व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरू नै राजनीतिक दलसँग प्रत्यक्ष आवद्ध हुँदा शिक्षा क्षेत्र झनै प्रभावित बनेको हो । नेताहरूले विद्यालयमा अशोभनीय गतिविधि गरिरहँदा स्थानीय सरकार तथा सरोकारवालको पनि उस्तै बेवास्ता देखिएको छ ।

प्रकाशित मितिः   ८ मंसिर २०७८, बुधबार ०५:००