लेकवेशी घोषणा–पत्र जारी

सुर्खेत: नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले लेकवेशी घोषणा–पत्र जारी गरेको छ । लेकवेशी नगरपालिकाको गमखोलामा बसेको महासंघको तेस्रो पूर्णबैठकले आठ बुँदे घोषणा–पत्र सार्वजनिक गरेको हो । घोषणा–पत्रमा प्रदेश सभामा दर्ता भएको कर्णाली प्रदेश सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनासम्बन्धी विधेयकलाई आवश्यक संशोधनसहित पारित गर्न आह्वान गरिएको छ । संविधानको परिकल्पना अनुसार पूर्णप्रेस स्वतन्त्रताको प्रत्याभूति हुनेगरी विधेयक संशोधन हुनुपर्ने र तत्काल आमसञ्चार प्रतिष्ठान स्थापनाका लागि घोषणा–पत्रमा आग्रह गरिएको छ ।

त्यस्तै, कोरोना महामारीका कारण समस्यामा परेका सञ्चार माध्यमहरूको दिगो सञ्चालनका लागि हाल सरकारले प्रदान गर्दै आएको लोक कल्याणकारी विज्ञापनमा वृद्धि गर्न महासंघले अनुरोध गरेको छ । स्थानीय तथा प्रदेश सरकारले उपलब्ध गराउने विज्ञापन स्थानीय सञ्चार माध्यममा अनिवार्य प्रकाशन तथा प्रसारण गर्नेगरी आवश्यक कानुन र नीति बनाइनुपर्र्नेमा जोड दिइएको छ । प्रदेश सरकारले सञ्चालन गरिरहेको पत्रकार स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहज र प्रभावकारी बनाउन माग गरिएको छ ।

त्यसैगरी, श्रमजिवी पत्रकारका लागि सञ्चार सामग्री खरिदमा अनुदानको व्यवस्था गर्न तथा पत्रकारलाई लेखनवृत्ति उपलब्ध गराउन छात्रवृत्ति कोष स्थापनाका लागि प्रदेश तथा स्थानीय तहहरूलाई आग्रह गरिएको छ । महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका र प्रत्यक्ष आबद्धता देखिएका शाखाका सदस्यहरूलाई स्वेच्छिक रूपमा महासंघको सदस्यता त्याग्नसमेत आह्वान गरिएको जनाए ।

अध्यक्ष बसेलका अनुसार कोरोना महामारीले सञ्चारगृह र पत्रकारमाथि पारेको प्रभाव तथा श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे जिल्लास्थित सञ्चार माध्यमको अनुगमन गर्ने, प्रदेश राजधानी वीरेन्द्रनगरसँग जोडिएको पर्यटकीय क्षेत्र लेकवेशी नगरपालिकाको समग्र विकास र प्रबद्र्धनका लागि विशेष योजना ल्याउन संघीय र प्रदेश सरकारलाई घोषणा–पत्रमार्फत अनुरोध गरिएको छ । हालसम्म स्तरोन्नति हुन नसकेको मदन भण्डारी राजमार्ग अन्तर्गत धुलियाबिट–भेडाबारी सडकलाई तत्काल स्तरोन्नति गर्न महासंघले सरोकारवाला निकायलाई आग्रह पनि गरेको छ । शाखाको तेस्रो बैठक गएको शनिवार लेकवेशीमा सम्पन्न भएको थियो । बैठक आयोजनाको संयोजन लेकवेशी नगरपालिकाले गरेको हो ।

प्रकाशित मितिः   ७ मंसिर २०७८, मंगलवार ०५:०२