विमानस्थलको धावनमार्ग मर्मत गरिँदै

नियमित उडान २५ दिन बन्द हुने

सुर्खेत: सुर्खेत विमानस्थलको धावनमार्ग मर्मतसम्भार गरिने भएको छ । मंसिर १० देखि पुस ५ गतेसम्म विमानस्थलको मर्मत गर्न लागिएको हो । यो अवधिमा नियमित उडान बन्द हुनेछन् । नागरिक उड्डयन कार्यालय सुर्खेतका अनुसार विमानस्थलमा धावनमार्ग ओभर–ले गर्न लागिएको छ ।

अहिले सुर्खेत–काठमाडौं बुद्ध एयरले मात्र नियमित एक उडान भर्दै आएको छ । झन्डै एक महिना सुर्खेत विमानस्थल बन्द रहने भएपछि वायुसेवा कम्पनीहरूले नेपालगञ्जमा दैनिक एउटा उडान थप गर्ने तयारी गरेका छन् । सुर्खेतबाट जाने यात्रुको सहजता तथा विकल्पका रूपमा नेपालगञ्जबाट जहाज थप्न लागिएको हो । बुद्ध एयरका अनुसार सुर्खेत विमानस्थल मर्मत अवधिमा नेपालगञ्ज–काठमाडौं दैनिक ६ वटा उडान हुनेछन् । बुद्धले हाल नेपालगञ्ज–काठमाडौं दैनिक पाँच वटा उडान गर्दै आएको छ । नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर मुराहरी भण्डारीले २५ दिनभित्र धावनमार्ग मर्मतको काम सकिने बताए ।

प्रकाशित मितिः   ६ मंसिर २०७८, सोमबार ०५:०३