अग्नी पीडितको बिचल्ली

आठ घरधुरीलाई मात्र प्रदेश सरकारको त्रिपाल
बस्तीमै पुगेर पीडित परिवारलाई राहत दिने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री जीवनबहादुर शाही

सुर्खेत: कार्तिक २९ गते रातिको भीषण आगलागीबाट मुगुको गमगढीका ८० परिवार विस्थापित भए । २१ घर जलेर नष्ट हुँदा ३५ करोड बढीको धनमाल क्षति भएको छ । जायजेथा सबै गुमाएका पीडित परिवारले अहिलेसम्म उचित राहत भने पाएका छैनन् । एक साता बितिसक्दा पनि उनीहरू बिचल्लीमै परेका हुन् । तीन वटै तहका सरकारले आफूहरूलाई आवश्यक राहत नदिएको अग्नीपीडितको गुनासो छ । सरकारी पक्षबाट आवश्यक सहयोग नभएपछि पीडित परिवार भोकै खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले अग्नीपीडित बस्तीमै पुगेर तत्कालै राहत दिने प्रतिबद्धता जनाएका थिए। तर, सोहीअनुसार राहत नपाएको पीडितको गुनासो छ।

‘जाडोयाममा बस्नलाई त्रिपाल समेत छैन । कष्टकर दैनिकी काट्न बाध्य छौं,’ पीडित छिरिङ लामाले भने, ‘हाम्रो बिजोग सरकारले देखेन ।’ आगलागीमा उनको घरसहित एक करोड बढीको धनमाल नोक्सान भएको थियो । अहिलेसम्म जिल्ला विपद् व्यवस्थापन समितिबाट १५ हजार र अन्य संघ–संस्थाले केही खाद्यान्न सहयोग गरेको छिरिङले बताए । ‘हामीले पाएको राहत भनेकै यत्ति हो, यसले मात्र कतिदिन चल्नु ?, ’ उनी भन्छन्, ‘प्रदेश र स्थानीय सरकारबाट केही पाइएको छैन ।’ छिरिङको चार जनाको परिवार छ । उनीहरू आफन्तको घरमा बास मागेर बसिरहेका छन् । ‘खानाको टुङ्गो हुँदैन, कसैले दिए खाने नभए भोकै बस्नुपर्छ,’ छिरिङले भने, ‘प्रदेश सरकारबाट राहतको नाममा एउटा त्रिपाल मात्र पाएका छौं ।’

जम्भा तामाङको परिवार पनि उस्तै कहरमा छ । बस्ने घर आगोले खरानी बनाएपछि उनको परिवारलाई कहाँ बस्ने र के खाने भन्ने समस्या परेको हो । जम्भाले विपत्तीका बेला पनि सरकारबाट आफूहरूले कुनै राहत नपाएको बताइन् । ‘बस्ने ठाउँ र भएको अन्नपात सबै सखाप भयो । स्थानीय सरकारले समेत हाम्रा दुःखमा हेरेन,’ उनले भनिन्, ‘चार जनाको परिवार छ । अहिलेसम्म आफन्तको घरमा बस्यौं । बल्ल प्रदेश सरकारले एउटा त्रिपाल दिएको छ । आजबाट त्यसैमा बस्ने त होला ।’ आगलागीबाट उनको एक करोड १० लाख बढीको धनमाल पूर्णरूपमा क्षति भएको छ । चिसो मौसममा त्रिपाल दिएर टार्नुभन्दा बासको व्यवस्था गरिदिएको भए राहत महशुस हुने उनी बताउँछिन् ।

अर्का अग्नी पीडित महोनकुमार मल्लको परिवारलाई झनै समस्या छ । मल्लको २१ जनाको ठूलो परिवार छ । उनीहरूलाई खान बस्नको निकै समस्या भइरहेको छ । चारतले घरसँगै आगोले नगद, सुनचाँदी र लत्ताकपडा सबै नष्ट गरेको छ । ‘खाना त जेनतेन खाएकै छौं । बस्नलाई साह्रै गाह्रो भयो,’ उनले भने, ‘प्रदेश सरकारले दिएको त्रिपाल पनि सबै परिवारले पाएका छैनन् ।’ जिल्ला विपद् व्यवस्थापन समितिले दिएको १५ हजार रूपैयाँले केही दिन गुजरा चलाएपनि अब भने संकट आएको उनले बताए । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार आइतवार मात्र आगलागी पीडित आठ घरधुरीलाई प्रदेश सरकारले उपलब्ध गराएको त्रिपाल वितरण गरिएको छ । अरु परिवार आफन्तको घरमा आश्रय लिइरहेका छन् । ‘विभिन्न संघ संस्थाले खाद्यान्न लगायतका सामग्री सहयोग गरेका छन्,’ प्रजिअ महतले भने, ‘स्थानीय सरकारले पनि राहत दिने तयारी गरिरहेको छ ।’

कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर १ गते अग्नीपीडित बस्तीमै पुगेर आवश्यक राहतको व्यवस्था मिलाइने प्रतिबद्धता जनाएका थिए । तर, सोहीअनुसार राहत नपाएको पीडितको भनाइ छ । मुख्यमन्त्रीको नेतृत्वमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीसहित सात सदस्यीय प्रदेश सरकारको टोलीले गमगढीको आगलागी बस्ती निरीक्षण गरेको थियो । उक्त टोलीले पीडित परिवारलाई तत्काल गास, बास र पुनर्वासको पहल गर्ने बताएका थिए । प्रदेश सरकार आश्वासन मात्र दिएर फर्किएको पीडित परिवार बताउँछन् ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितजङ्ग मल्लले स्थानीय सरकारले तत्कालै राहत दिन नसके पनि आवश्यक सहयोगका लागि कार्यपालिकाले निर्णय गरिसकेको जनाए । उनका अनुसार प्रत्येक पीडित घरधुरीलाई ४० हजार, व्यवसाय गरेर बसेकालाई २० हजार र भाडामा बस्नेलाई १० हजार नगद दिने कार्यपालिकाले निर्णय गरेको हो । ‘उहाँहरूको बासको व्यवस्थापनका लागि भने कुनै छलफल भएको छैन,’ उनले भने ।

प्रकाशित मितिः   ६ मंसिर २०७८, सोमबार ०५:०५