प्रदेश निर्वाचन क्षेत्रमा संस्थापन समूह विजयी

सुर्खेत: नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गत सुर्खेतका सबै स्थानमा संस्थापन पक्ष विजयी भएको छ । प्रदेशसभाका चार वटै निर्वाचन क्षेत्रको पार्टी नेतृत्व शेरबहादुर देउवा पक्षले लिएको हो । प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) मा केशर वली र (ख) मा भुपेन्द्र सुवेदी सभापति बनेका छन् ।

यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र २ (क) मा कर्णबहादुर बुढा र (ख) मा तेजबहादुर बस्नेत सभापति चयन भएका हुन् । बस्नेत बराहताल गाउँपालिकाका अध्यक्षसमेत हुन् । प्रदेशसभा क्षेत्रमा संस्थापन पक्षको प्यानल नै विजयी भएको हो । कांग्रेस सुर्खेतको यसअघि सम्पन्न गाउँ÷नगर अधिवेशनमा आठ वटा पालिकामा संस्थापन पक्षले नेतृत्व लिइसकेको छ । जिल्लाका नौ स्थानीय तहमध्ये एउटामा मात्र रामचन्द्र पौडेल समूहका सभापति बनेका छन् ।

यसैगरी, दैलेखका चार निर्वाचन क्षेत्रमा दुई वटामा संस्थापन र दुईमा पौडेल पक्षले नेतृत्व लिएका छन् । दैलेख प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधिसहित पौडेल पक्ष विजयी भएको छ । निर्वाचन क्षेत्र नम्बर १ (क) मा बखतबहादुर सापकोटा र (२) मा भदे बुढामगर सभापति बनेका हुन् । यी दुवै ठाउँमा पौडेल समूहको प्यानल नै आएको हो । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ (क) मा टंक ओली निर्वाचित भएका छन् भने (ख) मा खगेन्द्र शाही ‘राउटे’ विजयी बनेका छन् । उनीहरू दुवै संस्थापन पक्षका हुन् ।

प्रकाशित मितिः   ६ मंसिर २०७८, सोमबार ०५:०२