कांग्रेसभित्रको गुटबन्दी

नेपाली कांग्रेस १४औं महाधिवेशनको तयारीमा छ । अहिले महाधिवेशन अन्तर्गत तल्ला तहमा नयाँ नेतृत्व छनोट भइरहेका छ । वडा, गाउँ÷नगर र प्रदेश क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन् । संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशनलगायतका प्रक्रिया बाँकी छन् । मुलुकको प्रमुखमध्येको एक दल कांग्रेसको आन्तरिक गतिविधि पनि स्वभाविक रूपमा आम चासोको विषय बन्ने गरेको छ । त्यसैले पनि कांग्रेस अधिवेशनले राजनीतिक माहोल तातिएको छ । महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व पाउनेछ । त्यसका लागि कार्यकर्ताहरूले मतदान गरिरहेका छन् ।

विगतमाजस्तै यसपटक पनि कांग्रेसभित्रको चरम गुटबन्दी छताछुल्ल भएको छ । एक पक्षले अर्कोलाई निशेष गर्नेसम्मका गतिविधि देखा परेका छन् । तर ती गुट र उपगुट कुनै सिद्धान्तका लागि या विचारका आधारमा भइरहेका भने होइनन् । त्यसको स्पष्ट अर्थ हो–कांग्रेसको हरेक तहमा व्यक्तित्वको टकराव छ, र त्यो टकरावमा नीति र सिद्धान्त कहीँकतै देखा पर्दैन । अर्थात व्यक्तिवादले सिद्धान्त र नीतिलाई नराम्रोसँग परास्त गरेको छ । यो अस्वभाविक होइन । वास्तवमा २०४६ सालको जनआन्दोलनपछि कांग्रेस सत्ताको राजनीतिमा आयो र संस्थापनको रूपमा देखिन थाल्यो । पूरानो संघर्ष र नीति सिद्धान्तमा आधारित राजनीतिबाट ऊ विमुख हुन थाल्यो ।

पार्टीमा आन्तरिक राजनीतिको न्यूनता या अनुपस्थितिले व्यक्तिवादी प्रवृत्ति हावी हुन थाल्यो । पार्टीभित्रको आन्तरिक प्रजातन्त्रको अभाव र दलभित्र व्यक्तिवादी राजनीति हावी हुँदा एकातिर राजनीतिक संस्कार र मूल्यमान्यता कमजोर हुन्छन् भने अर्कोतिर त्यसले चाकडी, चाप्लुसी तथा नातावाद र गुटवादमा आधारित राजनीतिलाई प्रोत्साहित गर्छ नै । कांग्रेसभित्र सदस्यतालाई लिएर सधैँ किचलो हुने गर्छ । तर ती सदस्यहरू के का आधारमा बनेका छन् भन्नेबारे कुनै बहस हुन नसके पनि के निश्चित छ भने कांग्रेसको नीति र सिद्धान्तबाट आकर्षित भएर तिनीहरू सदस्य बनेका हैनन् । त्यसैले उनीहरूको राजनीति भोलिका दिनमा जनमुखी र संघर्षका आधारमा नभएर नेतामुखी र सत्तामुखी हुनेछ ।

कांग्रेसको आशन्न महाधिवेशनले उसको ऐतिहासिक हैसियत या मान्यता फर्कने कुनै सम्भावना देखिँदैन । नेतृत्वले कार्यकर्तालाई प्रेरित गर्न असफल भएको छ । उत्तरदायित्वको राजनीतिलाई पूर्णरूपमा त्यागेकाले प्रजातन्त्रको मूल मर्म र मौलिक मान्यतालाई बिसाएको देखिन्छ उसले । कांग्रेसले उसको इतिहाससँग सामिप्य राख्ने कोशिस गरेन भने वर्तमान र भविष्य दुवै उसका रहने छैनन् । नेपाली राजनीतिमा कांग्रेस मूल धारमा नै रहेको छ । यद्यपि बेला–बेलामा पार्टीको आन्तरिक लोकतन्त्रको बारेमा बहस हुने गरेको छ । प्रजातन्त्रलाई मूलमन्त्र मानेको कांग्रेसको आन्तरिक पार्टीमा भने प्रजातन्त्रको अभ्यास कम हुने गरेको आरोपसमेत लाग्ने गरेको छ । यस्तो अवस्थामा आउँदो महाधिवेशनबाट कस्तो नेतृत्व आउँला भन्ने चासो बढेको छ । कार्यकर्ताहरूले नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहँदा गाउँतहसम्म देखा परेका गुट तथा उपगुटहरूले पार्टीको आन्तरिक एकतामा कस्तो असर पार्ला । अर्कोतर्फ कांग्रेसको आन्तरिक कमजोरीले समग्र देशको राजनीतिलाई कहाँ लैजाला भन्ने पनि चिन्ता देखा परेको छ ।

प्रकाशित मितिः   ६ मंसिर २०७८, सोमबार ०५:०१