सुर्खेतमा कांग्रेस अधिवेशन

पालिकामा संस्थापन पक्षको पकड

थानीको गढमै खड्काको बर्चस्व, ‘किचन क्याबिनेट’ वडामै पराजित

सुर्खेत: सुर्खेतमा नेपाली कांग्रेसभित्र जबरजस्त दुई गुट छन् । संस्थापन पक्ष ‐शेरबहादुर देउवा)को महामन्त्री पूर्णबहादुर खड्का र संस्थापनइतर (रामचन्द्र पौडेल) समूहको नेतृत्व केन्द्रीय सदस्य हृदयराम थानीले गर्छन् । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत भइरहेका पालिका अधिवेशनमा पनि यिनै दुई समूहबीच प्रतिस्पर्धा भएको छ । यसपटकको प्रतिस्पर्धामा संस्थापन पक्ष हाबी भएको छ । थानी समूहको गढ मानिएका पालिकामा समेत खड्का समूहले बर्चस्व कायम गर्न सफल भएको छ ।

बिहीवार साँझसम्म जिल्लाका नौमध्ये सात वटा पालिकाको मतपरिणाम सार्वजनिक हुँदा सातै पालिकाको नेतृत्वमा खड्का समूहले बाजी मारेको छ । भेरीगंगा नगरपालिकामा रामबहादुर सिंह, गुर्भाकोट नगरपालिकामा हस्त पुन, सिम्ता गाउँपालिकामा वीरेन्द्र रावत, चिङ्गाड गाउँपालिकामा डोरप्रसाद शर्मा, लेकवेशीमा उमेश पौडेल, बराहताल गाउँपालिकामा भिमबहादुर भण्डारी र पञ्चपुरी नगरपालिकामा कृपाराम थापा सभापति बनेका छन् । उनीहरू सबै खड्का पक्षका हुन् । ती पालिकामा खड्का समूहको प्यानल नै विजयी भएको हो । यो समाचार तयार पार्दासम्म जिल्लाका बाँकी दुई स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको थिएन । वीरेन्द्रनगर नगरपालिका र चौकुने गाउँपालिकामा अधिवेशनको परिणाम आइनसकेको हो ।

केही ठाउँमा सर्वसम्मत नेतृत्व छनोट गरिएपनि अन्यमा भने निर्वाचन भएको थियो । दुई समूह प्यानल बनाएरै चुनावी मैदानमा होमिएका थिए । आन्तरिक निर्वाचनमा यी दुई पक्षबीच यसअघि प्रतिस्पर्धा भए पनि थानी पक्ष बलियो थियो । तर, विगतका परिणामलाई आधार बनाएर गरिएका आकलन यसपटक गलत सावित भएका छन् । अघिल्लो अधिवेशनमा जिल्ला नेतृत्व नै थानी पक्षले लिएको थियो । यो अधिवेशनबाट भने परिणाम उल्टिने संकेत देखिएको छ । पालिकाको नतिजाअनुसार जिल्लामा खड्का बलियो बन्दै गएका छन् भने थानी कमजोर भएका छन् । जिल्लाभर नै खड्काको गुट विस्तारसँगै थानी समूहलाई धक्का लागेको छ ।

‘किचन क्याबिनेट’ वडामै पराजित

थानी समूहबाट नेपाली कांग्रेस सुर्खेतमा बलियो प्रभाव राख्ने ठानिएकाहरू वडामै पराजित भएका छन् । यसले गर्दा थानीलाई ठूलो धक्का लागेको छ । वडा अधिवेशनमा धेरै नेताहरू क्षेत्रीय प्रतिनिधिनै चुनिन सकेनन् । नगर, जिल्ला र प्रदेशको नेतृत्वमा पुग्ने अनुमान गरिएकाको राजनीति वडामै ‘ब्रेक’ लागेको हो ।

राजनीतिमा थानीका नजिक रहेर काम गर्ने ‘किचन क्याबिनेट’ नै धमाधम वडामै हारेपछि उनको समूह गाउँ÷नगरमा पनि कमजोर बनेको छ । वीरेन्द्रनगर–६ बाट क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बनेका मोतिप्रसाद कंडेल, मोतिलाल पौडेल, धनबहादुर रावत, जयबहादुर बिसी, श्यामलाल कंडेल पराजित भएका छन् । उनीहरू थानी पक्षका मात्र होइनन् उनका विश्वास पात्र पनि हुन् । क्षेत्रीय प्रतिनिधिमा पराजित कंडेल वीरेन्द्रनगर–६ का वडाध्यक्ष समेत हुन् भने पौडेल थानीका नजिकका राजनीतिक सहयोगी मानिन्छन् । वीरेन्द्रनगरमा मात्र नभइ अन्य पालिका र वडामा पनि उनी निकट धेरै नेताहरूले यो अधिवेशनमा हारेका छन् । चिङ्गाडमा गाउँ कार्यसमितिको सभापतिका उम्मेदवार करसिंह राना पराजित भएका छन् । क्षेत्रीय सचिव रहेका राना विगतमा गाउँ कार्यसमितिको सभापति भइसकेका थिए । उनलाई थानीले पुनः सभापतिमा उठाएपछि अहिले पराजय भोग्नु परेको हो ।

यसरी उल्टियो परिणाम

यसपटक खड्का समूहले क्रियाशील सदस्यता बढाउन चलाखी गरेकाले नतिजा उनी अनुकूल भएको नेताहरूले बताएका छन् । अखण्ड नेपाल पार्टीबाट कांग्रेसमा आएकालाई क्रियाशील सदस्यता दिँइदा खड्का समूह बलियो भएको उनीहरूको तर्क छ । अखण्डबाट आएका झन्डै दुई सय जनालाई क्रियाशील सदस्यता दिइएको थियो । ती सबै खड्का समूहमा छन् । कांग्रेस केन्द्रले जिल्लालाई अखण्डका एक सय बढीलाई सदस्यता दिने परिपत्र पठाएपछि उतिबेला थानी समूहले आपत्ति जनाएको थियो । तर, पछि उक्त संख्या पनि बढाएर खड्काले क्रियाशील सदस्यता थपेको थानी पक्षको आरोप छ । यही विवादले सुर्खेतमा लामो समय रोकिएको वडा अधिवेशन शनिवारबाट मात्र सुरू भएको थियो ।

पछिल्लो समय खड्काको केन्द्रीय राजनीतिमा समेत प्रभाव बढ्दै गएको छ । उनी प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाका राजनीतिक सहयोगीका रूपमा काम गरिरहेका छन् । राष्ट्रिय राजनीतिमा देखिएको भूमिकाले पनि खड्का जिल्लामा बलियो बन्दै गएको कतिपयको भनाइ छ । खड्का पक्ष झांगिनुमा यो पनि एउटा कारण रहेको जानकारहरू बताउँछन् । यसभन्दा पहिला आफ्नो निर्वाचन क्षेत्रमा मात्र केन्द्रीत भएको आरोप खेप्दै आएका खड्का अहिले जिल्लाकै राजनीतिमा चासो दिन थालेका छन् । उनी गएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि आफ्नो क्षेत्रमा मात्र नभइ जिल्लाभर केन्द्रीत हुन थालेका हुन् । यसले पनि उनको समूह विस्तार हुँदै गएको हो ।
खड्का पक्षले बाजी मार्नुको अर्को कारण हो, थानी पक्षका जिल्ला तथा पालिकामा प्रभाव राख्ने नेताहरू उनको ‘क्याम्प’मा प्रवेश गर्नु । वीरेन्द्रनगरको विरासत गुम्नुमा यसैलाई मूल कारण मानिएको छ । कुनै बेला थानीका एकदम विश्वास पात्र देवकुमार सुवेदी केही समययता खड्कासँग छन् । सुवेदी वीरेन्द्रनगरको कांग्रेस राजनीतिका प्रभावशाली नेता हुन् । नगरप्रमुख समेत रहेका सुवेदीलाई थानीले आफ्नो समूहमा अड्याउन नसक्दा अधिवेशनको परिणाममा नै असर पुगेको बताइएको छ ।

प्रकाशित मितिः   ३ मंसिर २०७८, शुक्रबार ०५:०५