कथा – बादलको आकृति

पिठ्युँमा झोला भिरेर लामो पैदल यात्रामा निस्केको थिएँ । साथी थिएनन्, मनमा थुप्रै कुरा थिए । त्यसर्थ लामो घर बिदा सकेर फर्केको एकान्त यात्रा पनि रमाइलै थियोे । सरकारी नोकरीका लागि घरबास छोडेर परबास भएको दुई बर्ष कट्यो । नयाँ ठाउँ नयाँ परिवेश नौला अनुहार । हावापानी वातावरण सबै चिजबिज पराई । जागिरमा सुरु नियुक्त हुन जाँदाताका साह्रै नरमाइलो पो लाग्थ्यो । नरमाइलोमा दिन काट्नुपर्दा घरतिरको बेजोड सम्झना आउँथ्यो तर बाध्यताले तगारो हाल्थ्यो । सुरुका कैयन् दिनहरू मैले नहाँसेरै काँटे । पछि विस्तारै अभ्यस्त भैयो । अफिस आफ्नो लाग्न थाल्यो, डेरा प्यारो लाग्न थाल्यो र छिमेकीहरू पनि चिनारु हुँदै गए ।

आकाशभरी डम्म बादल लागेको हिउँद महिनाको एकदिन अफिसबाट फर्कदै गर्दा बाटामा पानी प¥यो । बर्साती पनि साथमा नभएकोले पाटीमा ओत्तिएँ । बाटो हिड्ने मजस्तै अरु पनि आए, ओत्तिने ठाउँ अलि साँगुरो भयो । अकस्मात त्यो हिस्सी परेको, मेरो मन विचलन पार्ने अनुहार पानीमा रूझिरूझी दौडेर पाटीमा उक्लदै मेरै नजिकै उभिए पछि म बिलखबन्दमा परेँ, बोल्नु कि नबोल्नु साह्रै अप्ठ्यारो प¥यो । एकाएक मनमा हैरानी उठ्यो किन कि यो वर्षाले भौतिक रूपमा मसँग यति नजिक पार्ला भनेर कतै सोचेकै थिइन । बिजुलीको चम्कन र बादलको गर्जनले उनको सातो खाँदो रहेछ । भयभीत भएर कान थुन्दै मेरो जिउमा पो अनुहार लुकाइन् । झन मुस्किल थपियो संवेगले मेरो जिउमा जाडो हरायो । परिस्थितिजन्य यो घटनाले गहिराईमा असामान्य ठाउँ बनाए पनि सतहमा सामान्या झैँ हुन खोजेँ । उनी लजाइन् निकै संकोच मानिन् ।

‘कस्तो होला पानी नै नथामिने भो ।’ वर्षासँग रोष पोखिन् ।

‘रातितिर मात्रै थामिन्छ कि !’ मैले भनेँ ।

त्यतिखेर नै मेरो डेरा उतापट्टिकी एउटी दिदी एउटा हातले छाता ओड्दै र अर्को हातले धोती सिमल्दै आइरहेकि थिइन् । मलाई देखिन् ।

‘जाने हो भाइ ? ल आउनुस जाउँ ।’

‘म त दौडेर पनि पुग्छु दिदी बरु ह्याँ बहिनीलाई पुर्‍याइदिनुस परसम्म । धर्म लाग्ला ।’

‘हुन्छ । जाने हो त बहिनी ?’ एउटा हात टाउकोमा राखेर हुत्तिइन् उनी छातातिर । एउटा छाताको ओतमा दुइटी अटसमटस हुँदै गएको हेरिरहेँ परसम्म ।

अझैसम्म उनी मेरा लागि अपरिचित नै हुन् । बाटाघाटामा कतै भेट हुँदा उनी पुलुक्क हेर्थिन् र मुस्काउँथिन । त्यो एक मुस्कानले मलाई घायल पारी मुस्कुराउनु बाध्य तुल्याउँथ्यो । त्यसरी म मुस्काए पछि उनले दृष्टि अन्त बदल्थिन् । त्यो दृश्य झन् यति आनन्द लाग्थ्यो, सकिन्न त्यसको बयान गर्न । चिनजान नभएर बोलचाल थिएन । बस त्यही मुस्कान मात्र हाम्रो लागि परिचय, नाता, सम्बोधन, भाषा सब थोक थियोे । मुस्कानको साइनो हृदयमा सिधा जोडिँदो रहेछ । त्यसैले उनी आउने– जाने बाटो र समयमा मेरा आँखा कुरिरहन्थे, एक झलक हेरेर सन्तुष्टि लिन ।

होली पूर्णिमा आयो । धुमधामसँग रङ–अबिरको जात्रा भयो दिनभर साथीहरूसँग हाँस्दै गाउदै नाच्दै मन खोलेर मनाइयो होली । लघुशङ्काको बहाना बनाइ स्थानीय साथीहरूबाट उम्केर कोठा आएँ, बाल्टीको पानीले हातमुख धोइ पखाली गरें । एक्कासी ठूलो होहल्ला सुनेपछि फेरि तल झरेर हेर्दा अनुहार भरी रङ दलेर दाँत र आँखा मात्रै सेता देखिने केटीहरूको एक जत्था आएको रहेछ । लोककथामा सुनिने राक्षसी जस्तो मुहार बनाएका त्यो जत्थाले बूढो–बालो कसैलाई छोडेको थिएन । हुलमा मलाई दाइ र अंकल सम्बोधन गर्ने किशोरीहरू पनि रहेछन् । रमिता गर्दै हुल नजिक आएपछि देखेर चिनिहालें उनी पनि यो होलिका दलकी सदस्य रहिछन् तब कतै भागी जान मन मानेन ।

‘लौ अंकल त चोखै हुनुहुँदोरहेछ त ।’

‘होइननी नानी म भर्खर नुहाएर …।’

‘आज होली हो, त्यसो भन्न पाइन्न है दाइ ।’

‘नाइ बहिनी प्लिज यसो नगर ।’

‘त्यसो भए टीका मात्र अंकल ।’

‘सधैँ दाइलाइ टीका लाउन पाइने होइन ।’

‘सधैँको साटो यही त हो मौका ।’ यसो भन्दै उनैले अघि बढेर मेरो मुखभरी अबिर घसिदिए पछि हुल सबै मैमाथि खनियो प्रतिकार गर्न पनि सकिन कति लाचार भएछु बरै ! मलाई त्यसरी मुछिसके पछि हुल अगाडि गयो । कोठामा आएर मैले ऐना हेरेँ, आफैसँग हाँसो उठ्यो । भोलि पर्सि पनि होली नै होली भैदिए हुन्थ्यो झैँ लाग्यो ।

भोलिपल्ट बिहान घरभेटी आमाले चिया खान बोलाउँदा उनको ७-८ वर्षको सानो छोराले भन्यो– ‘ए राजन दाइ, तपाईंलाई हिजो पुतली दिदीहरूले कस्तो बिजोग बनाइदिए त । हाँस्नाले म त मुर्छा…।’

‘मलाई पहिला दल्नेचाहीँ को हुन् श्यामु ?’

‘ए.. पवित्रा । चौतारा अगाडिको कपडा पसल छ त ! त्यो घरको छोरी । उनैले त नि तपाईंको मुखभरी घस्याघसै गरेको । क्या हाँसो लाथ्यो यार ।’

पवित्रा । आहा कति मीठो नाम । मान्छे जस्तै सफा नाम, नाम जस्तै कन्चन मन…। चिनजान हुनै परेन, सौन्दर्यले आफै तान्दोरहेछ मान्छेलाई । फूल मनपर्छ, हिमाल मनपर्छ, हरियाली मन पर्छ । चित्ताकर्षण गर्ने सबै चिज मन पर्छ । तर मनपर्ने सबै थोक प्राप्त हुँदैन जिन्दगीमा, र त मान्छे सधैँ लालायित हुन्छ प्राप्तिका लागि । अनेक कल्पनाहरू मनभित्र घुस्न आउँछन् र झन् रोमान्चित पारिदिन्छन् ।

आफ्नो लुगाफाटो झोलामा कोचेर ओरालो झरेँ म सिमल फेदको ढुङ्गेधारामा नुहाउन । त्यहाँ नपुग्दै आश्चर्य चकित भएँ किन कि ढुङ्गेधारामा पवित्रा पनि रहिछन् लुगाको डङ्गुरसँगै एक्लै लुगा धुँदै । यो संयोग मात्र होला कि लेखान्त नै होला ? सरासर जानू कि चुपचाप फर्कनु ? किन यति अफ्ट्यारो परिस्थिति आयो यो मोडमा ! संयोग वा लेखान्त जे भए पनि यो मेरो अवसर नै हो भन्ने ठानेर म अगाडि बढेँ । पहिला जस्तै मलाई देखेर उनी मुस्काइन् अनि म । मेरो आगमनमा अलिकति सम्हालिइन् उनी ।
‘सन्चै हुनुहुन्छ ?’ वार्ताको पहिलो सुरुवात मैले नै गरेँ ।

‘हजुर ।’

‘तपाईंहरूको होली त कति रमाइलो थियोे !’

‘हजुर खेल्नुभएन र ?’

‘मलाई त तपाईंहरूले विजोक पारिहाल्नु भोनी ।’

‘होलीमा त्यति नभएर के त ? ए .. नुहाउन आउनुभएको होला नुहाउनुस न त ।’

‘पालो मिच्न हुँदैननी, पहिला तपाईं आउनुभएको हो ।’

‘मलाई त बेलुकासम्म लाग्ला, कुर्नुहुन्छ त बेलुकासम्म ?’

जीवनभर कुर्न सक्छु म, भन्न मन लागे पनि सिधै त्यसो भन्ने आँट आएन । बरु भने, ‘बेलुकासम्म कुराउने कि नकुराउने त्यो तजबिज पवित्राजीकै हो ।’

‘आबुई ! तपाईंलाई कसले भन्यो मेरो नाम पवित्रा भनेर ?’

‘अन्दाजमा भनेको । पवित्रा नै हो तपाईंको नाम ?’

‘आम्मा नि कति चलाख हुनुहँदोरहेछ । आफ्नो नाम के हो नि ?’ यो सँगै उनीले अरु प्रश्न पनि गरिन, जस्तै मेरो घर कहाँ हो, परिवार कति छ्न, आएको कति भयो, खानपिनमा के मन पर्छ आदि । बातचितमा अलिकति खुल्दै गएपछि अन्तरङ्गका कुरामा जिस्कनु पनि छुट्टै आनन्द आउँदोरहेछ ।

‘लुगा त साना साइजका पनि रहेछन् त ।’

‘छन् छन् । भदैहरूका हुन् । उनीहरूलाई पनि त लाग्योनी होली ।’

‘अहिले मलाई भाउजुको याद आयो । तपाईंले पनि साना नानीहरूका लुगा धुन रहर गर्नुहुदोरहेछ ।’

‘केरे ? पुरुष जस्तो नकचरो जात त होईननी हाम्रो ?’ भन्दै उनी भुतुक्क लजाइन् ।

‘किन ? के गरेर पुरुषले त्यस्तो नकचरो काम ?’

‘साठी वर्ष पुगेकाले पनि बिहा गरेको छैन भन्दै ढाँट्छन् ।’

‘म साठी वर्ष पुगे जस्तो देखिछु र ?’

‘…’ उनी बोलिनन् मौनता साँधिन् ।

‘यत्रा लुगा आजै धुने आँट । मलाई त महिना दिन लाग्छ । तपाईंको जाँगरलाई त मान्नै पर्छ ।’ फेरि मै बोलेँ ।

‘के गर्नु त ? सरकारी जागिरे जस्तो सुखारी जीवन होइननी हाम्रो । काम नगरी हुँदैन ।’

‘त्यसो भए बाँडौँ न त बाँडौं । सुखदुःख बाँडौ ।’

‘…’ फेरि पनि उनी बोलिनन् ।

त्यसपछिका दिनहरूमा उनीले धक फुकाउँदै गइन् मलाई पनि दकस लाग्न छोड्यो । अनयासै ठाउँ ठाउँमा भेटघाट हुन थाल्यो । मान्छेको उपस्थितिमा भन्दा अनुपस्थितमा उनी ज्यादा खुल्दै गएको पनि मैले महसुस गरेँ ।

मलाई बिहानको खाजामा भुटेको चिउरासँग चिया औधी मनपर्छ । घरभेटी भाइ श्यामुलाई साथमा लिएर उही चिया पसलमा गएँ । भित्री कोठामा पस्दा पो देखेँ पवित्रा पनि आफ्नी कोही साथीसँग गफिँदै जेरी समोसा खाँदै रहेछिन ।

‘खाने बेला भेट भयो भने भाग्य खुल्छ भन्छन् ।’ ओल्लो बेन्चमा बस्दै मैले भनेँ ।

‘खानेबेलाका पाउनाले भाग खोट्याउँछन् पनि त भन्छन् ।’

‘याताकाले भन्दाहुन् हाम्रा तिरकाले भन्दैनन् ।’

‘बिहान बिहानै चिउरा, हिजो खाना खानुभएन कि कसो ?’

‘आफ्नो घरबार छैन, परियो परदेशी ….।’

‘बिचरा भोकै हुनुहँदो रहेछ, भीख माग्न नपरे हुन्थ्यो ।’ उनीहरू ममाथि खुब हाँसे, म मुस्काएँ श्यामुले छेउटुप्पै बुझेन ।

‘भिख त किन मागौंला माग्नै परे उज्यालो बर्णकी जीवन साथी मागौँलानि, किन कि आफूलाई पनि असल पिता जो बन्नु छ ।’

‘…’ उनीहरू चुपचाप भए टाउको निहुराए ।

उनीहरू बाहिरीदै गर्दा पवित्राले मेरो कपाल लुछ्दै भनिन् नकचरो परदेशी । आहा, सजाय पनि कुनै त कति आनन्दी हुन्छन् । जागिर नखाएसम्म बिहे गर्दिन भन्ने मेरो अडानले अब बा आमाको दबाब कतै थेग्न सक्दैन । त्यसैले मलाई त घरायसी समस्या पनि छ । मनमा खुसी फुल्दा कहिलेकाही भित्रैदेखी रमाइलो लाग्दोरहेछ ।

साँझतिर टुप्लुक्क डेरामा आइपुगेँ । दुई दिन लाग्ने बाटो खुट्टाले एकै दिनमा पहिल्याउन थाले । भातभान्सा एउटै भएर पो हो कि घरभेटीहरूसँगको भेटमा पनि कति मीठो सौहार्दता । चिया पसलको भित्री कोठामा चिया चिउरा खानु, ढुङ्गेधारामा नुहाउनु मूलबाटातिरको झ्याल खोल्नुमा विशेष आनन्द लाग्थ्यो । खोइ किन हो पछिपछि त मलाई आफ्नो गाउँ भन्दा यही ठाउँ रमाइलो लाग्न थाल्यो ।

मनका सारा कुरा खोल्न र धित मारेर बोल्न, समय परिस्थिति पनि त्यति प्रयाप्त अनुकूल भएन । अब छिट्टै कतै एकलासमा अनिवार्य भेट्नु थियो, आमाले भनेका मीठामीठा कुरा पनि सुनाउनु थियोे । खाना खाएर अनेक तर्कना गर्दै ओछ्यानमा पल्टिएँ ।
गोधूली साँझमा एकान्त बाटा छेउको झाडीले मलाई ग्वाम्म लुकाएको थियोे । मनमा पाप लिएर सिकारी जनावर झैँ घात लगाउन म कसैको प्रतीक्षामा थिएँ । उनी जतिजति नजिक आइन् त्यतित्यति म कठोर हुँदै गएँ । होश हराएर चेतना शून्य भएको थियोे झम्टिहालेँ । कसैको अनुनय र आँसुले रोक्न सकेन । भूत भविष्य र वर्तमान सबै बिर्सेर धर्मछाडा भएँ ।

अर्को घडी । उनको काखमा स्तनपान गरिएको सानो शिशु थियो । उनी शिशुको टाउको मुसार्दै मुग्द थिइन् । ए सानू मान्छे ! मैले परबाट बोलाएँ । बाबु, उः बाबालाई हेर त । कलिलो मान्छे दाँत विहीन गिजाले हाँस्दै मतिर फर्कदै थियो रोयो, म्या…!

शिशु रोदनले म झल्याँस्स ब्युझिएँ । म्या….। म्या…. । तल बाख्राको सानो पाठो पो कराउँदै रहेछ । झ्यालमा पनि झलमल्ल घाम आएछ । छ्या !

सपनाहरू पनि कुनैकुनै त कति निकृष्ट हुन्छन्, मनले सोच्नै नसक्ने घटना पनि सपना भएर देखिन आउँछन् । झटपट्ट उठेँ, नित्यकर्म भ्याएर कपाल कोर्दै ऐना हेरेँ । ऐनामा सपनाको अपराधीलाई देख्दा एक्लै अचम्म लाज लाग्यो ।

‘दाइ ! हजुर यति बेलासम्म सुत्नुभाथ्यो ?’ भ¥याङबाट म झर्दैगर्दा मीनासँग भेट भयो ।

‘साह्रै थाकेर भुसुक्कै निदाएछु । मीना ! कसको बिहा हो, यति नजिकै सहनाई रोएको ?’

‘आम्मै नि ! थाहा छैन र ? पवित्रा दिदीको के । हिजै हो बिहा त, आज दुलही लादैछन् । कति रमाइलो छ …।’

स्तब्ध भएँ, सब चिज स्थिर देखेँ । एक्कासी रिंगटा लागे झैँ भयो । मानौं अक्करको तारेभीर बाट मलाई कसैले घचेट्यो । मानौं यो छाती च्यातिएर मेरो मुटु कलेजो बाहिर खस्यो ।

‘राजन ! हिँड दुलहा हेर्न जाउँ ।’ घरभेटी आमाले काँधमा सारीको सप्को फाल्दै भनिन् ।

‘हजुरहरू हिड्दै गर्नुस् ।’ भन्दै म कोठातिरै उक्लिएँ । नयाँ लुगा लगाएर मान्छेहरू बिहा हेर्न गएँ । म उत्तरतिरको आकाशमा टोलाएँ । हात्ती, गाई, चरो, मुसो, सर्प बन्दै छिनछिनमा परिवर्तन हुने सेता बादलका आकृतिमा आँखा बिसाएँ, बिसाइरहेँ ।

प्रकाशित मितिः   ४ मंसिर २०७८, शनिबार १२:०४