चेलीलाई दाइजोः शिक्षा

विष्णुकुमार खड्का 
साक्षरता र सक्षमता शिक्षाका सार हुन् । संसार बुझ्ने र बुझाउने साक्षरता शिक्षा सबैको साझा सवाल  हो । सबैको लागि साक्षरता शिक्षा अनिवार्य र निःशुल्क हुनु संवैधानिक व्यवस्था, मौलिक हक र मानव अधिकारको निर्वाध उपभोग पनि हो । मानव जातिका रूपमा रहेका महिला र पुरुष मानव सभ्यताको अस्तित्वको निरन्तरताका परिपूरक, अपरिहार्य र अनिवार्य अवयव हुन् । यिनीहरूको समान र संयुक्त सक्षमतामा संसारको सार पाउन सकिन्छ । पुरुष र महिला मिलेर अगाडि बढ्ने मानव सभ्यताको रथ एकको असक्षता र अज्ञानतामा गन्तव्यमा पुग्न सक्दैन । सशक्तीकरणको मुख्य हतियार शिक्षामा छोरा र छोरीका लागि समान पहुँच र गुणस्तर कायम गर्ने सवाल आजको प्रतिस्पर्धी विश्व समुदायका लागि एक पेचिलो सवाल हो ।
मानव सभ्यताको विकास र विस्तारका  लागि  कर्म गर्न  अनिवार्य छ । त्यसका लागि घर परिवारमा कार्यविभाजन र कार्यविधि हुनु स्वभाविक नै छ । प्राकृतिक र जैविक विशेषता र सक्षमताका आधारमा कार्यको विभाजन हुनु वैज्ञानिक पनि हो । कामको विभाजन गर्ने भूमिकामा रहनेले आफूलाई सजिलो र प्रतिष्ठित काममा भाग सुरक्षित गर्नु र भाग लगाइ माग्नेले थमाइ दिएको कामको बागडोर समाल्नु बाध्यकारी जस्तै हुने नै भयो । त्यसकै निरन्तरता स्वरूप देखिएको र विकसित भएको  महिला  र पुरुषको विभेद र त्यसले सिर्जना गरेको मानव समाजको असोभनीय स्वरूपको न्यूनीकरण गर्ने अश्त्रको रूपमा शिक्षालाई लिने गरिन्छ । आदिम मानव समाजको जिजिविषा जिउने मात्र थियो । त्यसबेला परिवारका पुरुष जातिहरू शारीरिक रूपमा बलिया र हृष्टपुष्ट हुने भएकाले शिकार गर्ने र खानेकुरा लगायतका अन्य आवश्यक साधनको जोहो गर्ने अनि महिलाहरू घरमा खाना पकाउने र घरायसी व्यवस्थापन गर्ने कार्यविभाजनबाट सुरुवात गरिएको महिला  र पुरुष बीचको खाडल कालान्तरमा विभेदको शृंखला नै बन्यो भन्नु सायद तर्क संगत नै हुन्छ । आजको सभ्य र सूचना  प्रविधिको चरम विकासको युगमा समेत महिला र पुरुषबीचको विभेदको अन्त्य हुन सकेको छैन ।
सरकारी विद्यालयको भर्ना अभिलेखमा छात्रको तुलनामा छात्राहरूको संख्या उल्लेख्य पाइन्छ । उच्च माध्यमिक विद्यालयका कक्षा ११ र १२ र विश्वविद्यालयका शिक्षा, मानविकी तथा व्यवस्थापन सङ्काय अन्तर्गतका विषयमा अध्ययनरत विद्यार्थीहरूको संख्या नियाल्यो भने छात्राहरूको संख्या साँच्चै उल्लेख्य छ । यसरी हेर्दा छात्राहरू पनि छात्र सरह विद्यालयमा भर्ना हुने र शिक्षा आर्जन गर्ने प्रक्रियामा संग्लग्न भएको र सो को लागि जनचेतना पनि भरपुर पुगेको पाइन्छ । साक्षरता शिक्षा प्राप्त गर्ने र प्रदान गर्ने सम्बन्धमा आजको युगमा छोरा सरह छोरीलाई पनि शिक्षा दिनुपर्छ भन्ने मान्यता बढेको जस्तो देखिन्छ तर अन्तरवस्तुमा हे¥यो भने हाम्रा अविभावकहरूले फेरि पनि लैंगिक विभेदको  सुरुवात  गरेको  अनुमान  लगाउन मुस्किल पर्दैन । नेपालको  परिवेशमा सरकारी विद्यालयको तुलनामा निजी विद्यालयमा  गुणस्तरीय  शिक्षा प्रदान गरिने  र अभिभावकको  लगानी  प्रत्यक्ष रूपमा हुने विद्यालयको रूपमा व्याख्या  गरिन्छ । निजी तथा प्राविधिक विषय जो विषयको अध्ययन गर्दा पद, प्रतिष्ठा र प्राप्ती पनि आर्जन हुने विश्वास गरिएको छ त्यसमा छात्राको तुलनामा छात्राहरूको बाहुल्यता बढी नै पाइन्छ । यसरी अविभावकले शिक्षामा छोरीमा  गरेको शिक्षाको लगानीको तुलनामा छोरीमा गरेको लगानी फेरि पनि भेदभावकारी देखिन्छ । छोरा–छोरीमा शिक्षामा गरिने लगानी र त्यसले उनीहरुको जीवनस्तरमा पार्ने प्रभावमा अहिले पनि अविभावक र सरोकारवालाहरूको बीचमा तात्विक प्रगति भएको हुनसकेको देखिदैन । साक्षरता शिक्षा प्रदान गर्ने सवालमा लैंगिक भिन्नता न्यूनीकरण भए पनि जीवनोपयोगी  र गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा अहिले पनि लैङ्गिक विभेद कायम नै  छ भन्नु सायद अन्यथा नहोला ।
हाम्रो समाज अहिले पनि छोरालाई पैतृक सम्पतिको हकवाला र छोरीलाई अर्काको घरमा जाने जातको भएकोले दाइजो स्वरूप केही धन सम्पत्ति दिनुपर्ने परम्परागत मूल्य र मान्यताबाट मुक्त हुन सकेको छैन । छोरा या छोरी जे भए पनि उनीहरू पैतृक सम्पत्ति भन्दा पनि सशक्तीकरण गर्दै उनीहरूलाई सक्षम र सवल जीवनयापन गर्नसक्ने जीवनोपयोगी शिक्षा प्रदान गर्न सके न छोराले पैतृक सम्पत्तिको आशामा परनिर्भरतामा बाँच्ने दिन आउँछन् न त छोरीले पाउने दाइजोको मोल मोलाइमा लैंगिक हिंसा लगायतका विभेदकारी व्यवहारको शिकार हुनुपर्ने हुन्छ । त्यसकारण आजको सभ्य र सम्मुनत समाजमा महिला र पुरुषलाई विकास निर्माणको प्रक्रियामा सँगै अगाडि बढाउन समान रूपमा गुणस्तरीय र जीवनोपयोगी शिक्षाको अवसर प्रदान गर्नुपर्ने युगिन जिम्मेवारी आजका सचेत अविभावक र सरोकारवाला सबै सचेत र सम्वेदनशील हुन अनिवार्य छ ।
लैंगिक समानता घटाउने तथा शिक्षामा समानता वृद्धि गर्ने कुनै जादुको छडी छैन । शिक्षा नै एक यस्तो शक्तिशाली उत्तोलक हो जसले लैंगिक भेदभाव सिर्जना गर्ने कारकतŒवहरूलाई कमजोर बनाउँछ । नेपालको वर्तमान शैक्षिक परिवेशमा लैंगिक समानता ल्याउन सरकारी तथा गैरसरकारी तहमा प्रशस्त प्रयासहरू भइरहेका छन् । यस्ता प्रयासहरूले छात्राहरूको भर्ना प्रतिशत बढाएको छ, विद्यालयमा भर्ना भएकाहरूलाई केही हदसम्म भए पनि टिकाइरहको छ र विद्यालय छोडेकालाई वैकल्पिक शिक्षाको व्यवस्था गरेको छ । यति हुँदा–हँुदै पनि शिक्षामा लैंगिक पक्षलाई सबल बनाउन अझै सकिएको छैन । गरिबी, बालविवाह, चेतनाको कमी, घरभित्र र बाहिर काम गर्नुपर्ने बाध्यता आदि जस्ता कारणहरूले बालिकाहरू विद्यालयहरूमा अपेक्षित रूपमा सहभागिता हुन सकेका छैनन् । विद्यालयको वातावरण तथा व्यवहार छात्रामैत्री नहुनुले पनि उनीहरूको सहभागिता कमजोर बनाएको हो । यी र यस्ता कमजोरीहरूलाई सम्बोधन नीति निर्माण तहदेखि पठन–पाठनका क्रियाकलापसम्म थप पहल र प्रयत्नको आवश्यकता छ । विद्यालयमा लैंगिक पक्षलाई सवल बनाउने हो भने विद्यालय भित्रका गतिविधिहरूलाई मात्र सम्बोधन गरेर पुग्दैन विद्यालय बाहिर पनि चेतनामूलक कार्यक्रम लगायत विद्यालयभित्र छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, बालिकामैत्री शिक्षण सिकाई, महिला शिक्षकको व्यवस्था, तालिममा महिलाको अवसर आदि बढाउनुपर्दछ । 
सामाजिक परिवर्तन ढिलो हुनसक्छ तर प्रत्यक्ष रूपमा महिलालाई सशक्त नबनाइ यो प्राप्त गर्न सकिदैन । महिलाहरूलाई स्वास्थ्य वातावरण र शिक्षा सम्बन्धी आफ्नो आवश्यकताहरू पहिचान गर्न सहयोग गर्नु, निर्णय लिन र जीवनस्तर सुधार्न सहयोग गर्नु, समाजमा महिला र पुरुषबीच उच्चतम समानता हासिल गर्नका लागि अति महŒवपूर्ण कार्य हुन् । यस परिवर्तिन प्रक्रियामा निश्चय नै शिक्षा एक महŒवपूर्ण अङ्ग हो । 
प्रकाशित मितिः   २६ फाल्गुन २०७२, बुधबार १०:४०