अधिकारका लागि अग्रसर हुँदै

साझा बिसौनी संवाददाता
सुर्खेत, २५ फागुन । 
वीरेन्द्रनगर–२१ की डिला विक ४८ वर्षकी भइन् । उनको अधिकांश समय घरभित्रकै काममा बित्यो । पहिले छोरी भएर त पछि बुहारी भएर । महिला अधिकारका बारेमा उनलाई केही थाहा नै थिएन । घरायसी काम गर्नु र परिवारलाई खुशी राख्नु नै आफ्नो जिम्मेवारी ठानिन् । आफ्नो जीवनको चार दशक समय बिताइसकेकी उनी मंगलवार भने अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वीरेन्द्रनगरमा निकालिएको ¥यालीमा नारा लगाउँदै हिँडेकी थिइन् । महिला मुक्तिका लागि गरिएको आन्दोलनको सम्झनामा आयोजित ¥यालीमा उनी पहिलो पटक सहभागी भएकी हुन् । लाटीकोइली–८ की यज्ञकुमारी सुवेदीलाई पनि नारी दिवसका बारेमा केही थाहा थिएन । उनी पनि घरायसी काममा नै व्यस्त हुने गर्थिन् । तर नवज्योति केन्द्रको महिला समूहमा सहभागी भएपछि उनले महिला अधिकारका बारेमा बुझ्दै गइन् । हिजोआज उनी पनि महिला मुक्तिका कुरा गर्न थालेकी छिन् । ‘आफैमाथि भइरहेको हिंसा, अन्याय र विभेद पनि हामीलाई थाहा नै रहेनछ’ उनी भन्छिन्, ‘अचेल समूहमा गएर छलफलमा बसेपछि मात्रै थाहा भयो ।’
डिला र यज्ञकुमारी त प्रतिनिधि पात्र मार्फत् हुन्, पछिल्लो समय महिलाहरू आफ्नो अधिकारका लागि आफै अग्रसर हुन थालेका छन् । डिला भन्छिन्, ‘आफ्ना लागि आफै अघि नसरेसम्म पछि परिने रहेछ ।’ सधंै चुलो र चौकोमा सीमित हुने महिलाहरू आफ्नो हकहितका लागि आवाज उठाउन थालेका हुन् । उनले थपिन्, ‘हामी त घरकै चुलो चौकोमा नै सीमित थियौं, अब सबै दिदीबहिनीहरू एकजुट भएर महिलाहरूमाथि भएका अन्यायविरुद्ध आवाज उठाउन जरुरी छ ।’ 
विश्वभर १०६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा सुर्खेतमा पनि  सयौं महिलाहरू जम्मा भएर ¥यालीसहित कार्यक्रम गरेका छन् । उनीहरूले महिला हिंसा अन्त्य गर्नुपर्ने, लैंगिक समानता कायम गर्नुपर्ने, महिलाहरूलाई पनि समान अवसर दिनुपर्ने लगायतका नारा लगाउँदै बजार परिक्रमा गरेका थिए । बजार परिक्रमापछि खुलामञ्चमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै सांसद सीता नेपालीले संविधानले दिएको अधिकारलाई व्यवहारमा उतार्न जरुरी रहेको बताइन् । उनले महिला र पुरुष बीच समानता र समान अधिकार स्थापित गराउनको लागि महिला र पुरुष दुवै एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘अवसर पाए महिला कमजोर छैनन्, महिलालाई अवसरबाट वञ्चित नगराउ ।’ महिलाहरूमा घरको चुलो चौकोदेखि देश हाँक्न सक्नेसम्म क्षमता छ, उनले थपिन्, ‘महिलालाई कमजोर नसम्झौं ।’ 
अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष मोहनमाया ढकालले महिलाहरूलाई सैद्धान्तिक रूपमा सक्षम बनाउन जरुरी रहेको बताइन् । उनले भनिन्, ‘महिलालाई अगाडि ल्याउन पहिला महिलालाई अन्तर्राष्ट्रिय महिला दिवसका बारेमा बुझ्न र बुझाउन जरुरी छ, तब मात्र महिला अगाडि बढ्न सक्छन् ।’ महिलालाई कमजोर नसम्झने भन्दै उनले महिलालाई प्रकृतिले दिएको बच्चा जन्माउनेदेखि सबै काम वहन गर्दै देश समेत हाँक्न सक्ने उनको भनाइ थियो । उनले थपिन्, ‘महिलालाई बच्चा जन्माउने र हुर्काउने त हुन् के गर्न सक्छन् र भन्ने पुरुषवादी सोचलाई परिवर्तन गर्न जरुरी छ ।’ लोकतान्त्रिक महिला सञ्जालका अध्यक्ष हरीमाया शर्माले महिलाहरू एकजुट भए जे काम पनि सफल बनाउन सक्ने बताइन् । उनले भनिन्, ‘महिला एकजुट भए हरेक क्षेत्रमा अगाडि बढ्न सक्छन् ।’ महिलाहरूकै कारण संविधान पनि महिलामय बनेको उनको भनाइ थियो । उनले संविधानबाट पाएको हकअधिकारलाई महिलाहरूले गुम्न दिन नहुने बताइन् । 
कार्यक्रममा महिला हिंसा र बालविवाह विरुद्धका विभिन्न सडक नाटक प्रदर्शन, गीत तथा दोहोरी गीत प्रतियोगिता समेत गरिएको थियो । त्यस्तै विभिन्न समूहका महिला उद्यमीहरूले उत्पादन गरेका घरेलु उद्योगहरू पनि प्रदर्शन गरिएको थियो । उत्कृष्ट पाँच उद्यमी समूहलाई पुरस्कृत समेत गरिएको छ । विभिन्न समूह, सरकारी तथा गैरसरकारी कार्यालय, संघ–संस्था, बाल क्लब लगायतको सहभागिता रहेको कार्यक्रममा महिला तथा बालबालिका कार्यालय प्रमुख जमुना पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबीच नारी दिवसका अवसरमा मंगलवार सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरका साथै गाउँ गाउँमा पनि विभिन्न कार्यक्रमहरू गरिएको छ । 
प्रकाशित मितिः   २६ फाल्गुन २०७२, बुधबार १०:५३