चार मन्त्रालयमा माओवादी केन्द्रको दाबी

सुर्खेत: कर्णाली प्रदेशको सत्ता साझेदार मध्येको एक नेकपा (माओवादी केन्द्र)ले चार मन्त्रालय मागेको छ । बिहीवार बसेको प्रदेश संसदीय दलको बैठकले चार मन्त्रालयमा दाबी गरेको हो । ‘हामीले चार मन्त्रालय नछोड्ने निर्णय गरेका छौं,’ संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले भने, ‘सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल हुनुले सम्मानजनक सहभागिता खोजिएको हो ।’ विष्टका अनुसार मन्त्रालय छान्ने जिम्मा भने संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिइएको छ । ‘अन्य दलसँग आवश्यक छलफल गर्ने र मन्त्रालय छान्ने जिम्मा दलको नेतालाई नै दिएका छौं,’ उनले भने, ‘कति मन्त्रालय पाउने भन्ने निश्चित भएपछि मन्त्रीको नाम टुंग्याइने छ ।’

मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको झन्डै तीन साता भइसक्दा पनि सरकार विस्तार हुन सकेको छैन । उनले दुई सातापछि मात्र एक जना मन्त्री नियुक्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट चन्द्रबहादुर शाही भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका हुन् । गठबन्धन दलबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा सरकार गठनमा ढिलाइ भएको हो । माओवादी केन्द्रका प्रमुख सचेतक विष्टले अबको एक–दुई दिनमै मन्त्रालयको भागबन्डा टुंग्याउने गरी छलफल हुने जनाए ।

कर्णालीमा कांग्रेस नेतृत्वमा तीन दलीय गठबन्धनको सरकार बन्दै छ । मन्त्रालय भागबन्डामा आ–आफ्नै दाबी हुन थालेपछि सरकार विस्तारमा अन्योल भएको छ । माओवादी केन्द्रले चार, एकीकृत समाजवादीले तीन र कांगे्रसले पनि मुख्यमन्त्रीसहित तीन मन्त्रालयमा दाबी गर्दै आएका छन् । माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन् । प्रदेशमा मुख्यमन्त्रीसहित आठ वटा मन्त्रालय रहेका छन् । आलोपालो सरकार चलाउने सहमतिका आधारमा कांग्रेस नेतृत्वमा सरकार गठन भए पनि लामो समयदेखि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन ।

प्रकाशित मितिः   ३ मंसिर २०७८, शुक्रबार ०५:०१