मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

विराटनगर – नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रदेश १ को मुख्यमन्त्री बनेका राजेन्द्र राईले विश्वासको मत पाएका छन् । प्रदेशसभाको आजको बैठकमा राईले विश्वासको मत पाएका हुन् ।

प्रदेशसभामा राईको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ । मतदानमा ७९ जना प्रदेश सांसद उपस्थित भएका थिए । प्रदेश १ को प्रदेशसभामा अहिले ९२ जना सदस्य कायम छन् ।

राई प्रदेशसभाको मंगलवारकै बैठकबाट विश्वासको मत लिने तयारीमा रहे पनि हिजो बैठक बस्न सकेको थिएन । नेपाल बन्दलाई कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु बैठकमा नआएपछि हिजो स्थगित भएको थियो ।

पाँच दलीय गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका राई गत १६ कात्तिकमा प्रदेश १ को मुख्यमन्त्री बनेका थिए। तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि उनी मुख्यमन्त्री भएका हुन् ।

प्रकाशित मितिः   १ मंसिर २०७८, बुधबार १७:००