असावधानीले बर्सेनि क्षति

सुर्खेत: सोमवार राती मुगुको गमगढी बजारमा आगलागी भयो । बस्तीका २१ वटा घर जलेर नष्ट भए । एउटा घरमा पुजा कोठाको दियोबाट सल्केको आगोले बस्ती नै सखाप पारेको हो । समयमै आगो नियन्त्रण गर्न नसक्दा धेरै क्षति भएको स्थानीयले बताएका छन् । रातभर दन्किएको आगो सुरक्षाकर्मी र स्थानीयले मंगलवार बिहान मात्र नियन्त्रणमा ल्याएका थिए । छिनभरमै बस्ती उजाड भएपछि त्यहाँका नागरिक अहिले विस्थापित भएका छन् । अग्नीपीडित उनीहरू बिचल्लीमा परेका हुन् ।

कर्णाली प्रदेशमा आगलागीका घटनाले हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ । मानवीय लापरबाहीले बस्तीदेखि जंगलसम्म जल्ने गरेका हुन् । दुई वर्षअघि मुगुकै मुगुमकार्मारोङ गाउँपालिका–४, किम्रीमा आगालागी हुँदा १९ घर जलेका थिए । गएको वर्ष कालीकोट र जुम्लाका विभिन्न ठाउँमा आगलागीका थुप्रै घटना भए । त्यहाँ पनि ठूलो जनधनको क्षति पुग्यो ।

हिमाली क्षेत्रका बस्तीमा हिउँदमा समेत आगलागीको जोखिम उच्च छ । तर, त्यसको न्यूनीकरणका लागि ठोस योजना बनाएर सोहीअनुरूप प्रतिकार्यका काम हुन सकेका छैनन् । विपद् पूर्वतयारी, उद्धार र राहतका कार्यक्रम नबनाइँदा कर्णालीमा हरेक वर्ष अग्नी प्रभावितको संख्या बढ्दो छ । प्रदेशका मुगु, हुम्ला, डोल्पा, सल्यान, दैलेख र जाजरकोटमा बढी आगलागी हुने गरेको प्रहरीको तथ्याङ्क छ । गत वर्ष चैतमा जुम्लामा पनि भीषण आगलागी भएको थियो । गोठीगाउँका २८ घर पूर्णरूपमा क्षति भएका थिए । ती घरहरूमा राखिएका अन्नपात, धनसम्पत्ति र पशुचौपाया जले । उक्त बस्तीको एउटा घरमा सुधारिएको चुल्होको धुवाँ फाल्ने ठाउँबाट सल्किएको आगोले बस्ती नै खरानी बनाएको हो । उतिबेला विस्थापित भएका परिवारको अहिलेसम्म पनि उचित व्यवस्थापन हुन सकेको छैन । उनीहरूमध्ये कतिपय परिवार अझै खुल्ला आकाशमुनी छन् ।

त्यस्तै, गत वर्ष नै कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा उस्तै ठूलो आगलागी भयो । १३ घर जलेर खरानी भएपछि बस्ती नै विस्थापित हुनुप¥यो । गएको आर्थिक वर्षमा मात्र प्रदेशभर करिब डेढसय स्थानमा आगलागी भएको थियो । मानवीय त्रुटिले भएका ती घटनामा करोडौं धनमाल नोक्सानी भएको हो । प्रहरीका अनुसार गत वर्ष आगो निभाउन गएका चार जनाले ज्यानै गुमाएका थिए । पछिल्ला पाँच वर्षयता कर्णालीमा आगलागीबाट २५ जनाभन्दा बढीको मृत्यु भएको छ ।

आगलागीका घटना भइरहनुमा मुख्यगरी अव्यवस्थित बसोबास र मानवीय असावधानी नै रहेको डिभिजन वन कार्यालय सुर्खेतका वन अधिकृत सूर्य शर्मा बताउँछन् । उनले प्राकृतिक हिसाबले पनि पछिल्ला वर्षमा आगलागीको बढी नै जोखिम रहेको जनाए । ‘जलवायु परिवर्तनको असरले डढेलोजस्ता जोखिमहरू बढिरहेका छन्,’ उनले भने, ‘यसको न्यूनीकरणका लागि सोहीअनुसारका सरकारी नीति र जनचेतनामुलक कार्यक्रम आवश्यक पर्छ ।’ हिमाली जिल्लाहरूमा लहरै जोडिएर बनेका घरका कारण पनि आगलागीबाट धेरै क्षति हुने गरेको छ । त्यस्ता बस्तीमा आगो तीव्र रूपमा फैलने गर्छ । हिमाली तथा पहाडी क्षेत्रमा आगलागी हुँदा निकै ठूलो क्षति भएपछि मात्रै नियन्त्रणमा आउने गरेको छ । दमकल र पानीको अभावका कारण आगो नियन्त्रणमा लिन समस्या हुने गरेको हो ।

कर्णाली बाढी–पहिरो जस्ता प्राकृतिक विपद्सँगै धेरैजसो मानवीय असावधानीले हुने आगलागीको चपेटमा समेत पर्दै आएको छ । हिमाली भू–भागका बस्तीका घरहरू खर र फुसको छानोले बनेका छन् । यसले गर्दा पनि आगलागीको जोखिम बढी हुने गरेको छ । प्रदेश सरकारले सबै बस्तीमा खरका छाना हटाएर टिन हाल्ने महŒवाकांक्षी योजना ल्याएपनि प्रभावकारी कार्यान्वयन भएको छैन । गत आर्थिक वर्षदेखि सुरू भएको उक्त कार्यक्रम अलपत्र छ । आगलागीका घटनाबाट जनधनको क्षति भइरहँदा सरकारले राहत तथा पुनस्र्थापनामा पनि ढिलासुस्ती गर्दै आएको छ । पीडित परिवारलाई तीनै तहका सरकारले बेवास्ता गर्दा आगलागीमा नष्ट भएका घर पीडित आफैले बनाउनुपर्ने बाध्यता छ ।

पीडितलाई राहत दिइने

गमगढीमा भएको आगलागीका पीडित परिवारलाई प्रदेश सरकारले राहत दिने भएको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी) को मंगलवार बसेको आकस्मिक बैठकले आवश्यक राहत उपलब्ध गराउने निर्णय गरेको हो । तत्कालीन राहत स्वरूप खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र टेन्ट उपलब्ध गराउने भनिएको छ । स्थलगत अनुगमन र स्थानीय प्रशासनले क्षतिको यकिन विवरण संकलन गरेपछि थप राहत प्याकेज ल्याइने प्रदेश सरकारले जनाएको छ ।

गमगढी बजारमा सोमवार राती भएको आगलागीबाट २१ वटा घर जलेका छन् भने करोडौंको धनमाल क्षति भएको छ । आगलागीमा मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार आगलागी मंगलवार बिहान मात्र नियन्त्रणमा आएको थियो । घना बस्तीका कारण आगलागी नियन्त्रण गर्न कठिनाइ भएको उनले जनाए । ‘जोडिएका घर र पसलमा बिक्रीका लागि राखिएका ग्यास तथा अन्य सामग्रीका कारण आगलागी नियन्त्रणमा लिन समय लागेको हो,’ प्रजिअ महतले भने ।

प्रकाशित मितिः   १ मंसिर २०७८, बुधबार ०८:०३