तरकारीमा रोगकिराको प्रकोप

सुर्खेत: पूर्वी सुर्खेतका किसानले उत्पादन गरेको तरकारी बारीमै नष्ट भएको छ । रोगकिराले तरकारीमा क्षति पु¥याएपछि किसानहरू मारमा परेका छन् । सिम्ता गाउँपालिकामा ठूलो क्षेत्रफलमा लगाइएको तरकारीमा क्षति पुगेको छ । बेमौसमी वर्षापछि तरकारीमा रोगकिराको प्रकोप देखिएको हो । व्यवसायीक तरकारी खेती गरिरहेका किसान यतिबेला निराश बनेका छन् ।

सिम्ता–६ स्थित राकममा व्यवसायिक रूपमा तरकारी खेती गरिँदै आएको छ । स्थानीयले जमिन भाडामा लिएर जामुनेबजार तरकारी पकेट क्षेत्र सञ्चालन गर्दै आएका छन् । करिब दुई सय विगाह जमिनमा व्यावसायिक रूपमा गरिएको तरकारी खेतीमा रोगले असर गरेको हो । बेच्न ठिक्क भएको तरकारी रोगकिराले सखाप बनाएको किसानहरूको गुनासो छ । बारीमा लगाइएको टमाटर, काउली, आलु, बन्दालगायतका तरकारीमा नोक्सानी भएको छ । राकममा २१ जना कृषकहरूले सामूहिक तरकारी खेती गर्दै आएका छन् । तरकारीमा देखिएको रोग नियन्त्रण नहुँदा यसपटकको लगानी खेर जाने चिन्ता किसानलाई छ ।

प्रकाशित मितिः   १ मंसिर २०७८, बुधबार ०८:०१