नेतृत्वमा युवा हस्तक्षेप

मुलुकका प्रमुख दुई राजनीतिक दल महाधिवेशनको सम्मुखमा छन् । नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसिरमा हुँदैछ । अहिले दुवै पार्टीका तल्लो कमिटिका अधिवेशन धमाधम भइरहेका छन् । स्थानीय कमिटिका नेतृत्वमा अहिले युवाहरूको आकर्षण देखिएको छ । एमालेको होस् या कांग्रेसका वडा, गाउँ–नगरमा युवा पुस्ताको उल्लेखनीय आकर्षण देखिएको छ । यसले राजनीतिमा युवाको आकर्षण बढेको देखाउँछ । त्यति मात्रै होइन नेतृत्वका लागि तयार पछिल्लो पुस्ताको पंक्ति पनि देखाउँछ । जुन सकारात्मक पक्ष हो ।

युवालाई परिर्वतनको संवाहक शक्तिको रूपमा लिइन्छ । त्यसैले पनि कुनै पनि क्षेत्रमा युवाको नेतृत्वलाई उत्साह र अपेक्षाका साथ हेर्ने गरिन्छ । राजनीतिमा यसको प्रभाव अझ व्यापक हुने गरेको छ । जोश, जाँगर र ऊर्जाले भरीपूर्ण युवाशक्ति देशको विकास र समृद्धिको आधार हुनसक्ने अपेक्षा आमरूपमा रहने गर्दछ । अहिले नेपालमा युवाको जनसंख्या धेरै छ । कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी युवा छन् । तर युवाप्रधान मुलुकमा युवालाई नेतृत्वको अवसरबाट वञ्चित गरिँदै आएको छ । राजनीतिमा त पुरानो पुस्ताकै हालिमुहाली रहने गरेको छ । युवाहरू भर्‍याङ मात्रै बन्ने गरेका छन् । यस्तो बेलामा तल्लो तहदेखि नै युवाहरूको हस्तक्षेपपूर्ण सहभागिताले राजनीतिमा नयाँ पुस्ताको आगमनलाई बाध्यकारी बनाउन सघाउने छ । जबसम्म विकासको मूल प्रवाहमा युवाहरूलाई प्रत्यक्ष सहभागी गराउन सकिदैन तबसम्म मुलुक समृद्धिको दिशामा अघि बढ्न सक्दैन । युवा पुस्ता समयानुकूल परिवर्तन चाहन्छन् । परिवर्तित समयानुसारको मुद्दालाई सशक्तरूपमा उठाउन नसक्ने र युवाको सवाललाई सम्बोधन गर्न नसक्ने वा नचाहने बुढा नेतालाई पाखा लगाउँदै युवा पुस्ता नेतृत्वमा चयन हुनु सुखद् संकेत हो । युवापुस्ताको प्रवेशले राजनीतिक वृत्तमा नयाँ आशा र अपेक्षा पनि जगाएको छ ।

मुलुकको हरेक राजनीतिक परिवर्तनमा युवाहरू नै अग्रपंक्तिमा उभिन्छन् । त्यही शक्तिको बलले परिवर्तन हुन्छ । तर तिनै युवा अवसरबाट भने सधैँ वञ्चित हुँदै आएका छन् । अवसर दिने वा पाउने बेलामा भने युवाको भूमिकालाई बिर्सिने प्रयास निरन्तर हुँदै आएको छ । राजनीतिको नेतृत्व तहमा युवालाई अवसरबाट वञ्चित गरिँदै आएको छ । यो प्रवृत्ति सबै राजनीतिक दलहरूमा देख्न पाइन्छ । अवसरको खोजीमा लागेका युवालाई नेतृत्व तहले सधैँ उपेक्षा र तिरस्कार गर्दै आएको छ । त्यसैले राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका संवाहक भनिएका युवा राजनीतिक नेतृत्व तहसँग असन्तुष्ट छन् र निराश छन् । यही निराशाले विरक्तिएका युवा विदेश पलायन हुने क्रम विगत तीन–चार दशकदेखि बढेको बढ्यै छ । राजनीतिक, सामाजिक र आर्थिक दृष्टिकोणले पनि यो राम्रो संकेत पक्कै होइन । नेपालको मूलधारको राजनीतिमा नेतृत्व गर्न सक्षम दोस्रो र तेस्रो पुस्ता पनि तयार भइसकेको छ । तर तिनले नेतृत्वको अवसर भने पाउन सकेका छैनन् । नेतृत्व हस्तान्तरण गर्न पहिलो पुस्ता अझै तयार भएको छैन । पछिल्लो समय प्रमुख दुई दलमा देखिएको युवा आकर्षणले भने सुखद् संकेत गरेको छ ।

प्रकाशित मितिः   १ मंसिर २०७८, बुधबार ०७:५९