मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त

सुर्खेत: कर्णाली प्रदेश सरकारको कानुनी सल्लाहकारमा अधिवक्ता ध्रुवकुमार श्रेष्ठ नियुक्त भएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले आइतवार श्रेष्ठलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले आइतवार नै पद तथा गोपनीयताको सपथ लिएका छन् । सुर्खेतको वीरेन्द्रनगर–९ का स्थायी बासीन्दा श्रेष्ठ लामो समयदेखि कानुन व्यवसायमा संलग्न छन् । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकार रहने व्यवस्था छ । त्यस्तै, संवैधानिक एवम् कानुनी विषयमा प्रदेश सरकारलाई वा सरकारले तोकिदिएको अधिकारीलाई राय सल्लाह दिनु मुख्य न्यायाधिवक्ताको कर्तव्य हुने संवैधानिक प्रावधान छ । यसअघि माओवादी केन्द्र नेतृत्वको सरकारमा विद्याभूषण मानन्धर र मातृकाप्रसाद खनाल मुख्य न्यायाधिवक्ता बनेका थिए । उनीहरू दुवैले कार्यकाल नसकिँदै राजीनामा दिएका थिए ।

प्रकाशित मितिः   २८ कार्तिक २०७८, आईतवार १६:१६