कांग्रेसको कर्णाली प्रदेश अधिवेशन संयोजकमा शाही

सुर्खेत- नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन अन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ । आइतवार बसेको केन्द्रीय समितिको बैठकले कर्णालीमा जीवनबहादुर शाहीलाई संयोजक बनाएको छ ।

कर्णालीको मुख्यमन्त्री समेत रहेका शाहीलाई पार्टीले अधिवेशनमा प्रदेशको संयोजन गर्ने जिम्मा दिएको हो । शाही कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

यस्तै, प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकिएको हो ।

हाल पार्टीको प्रदेश समिति नभएका कारण अधिवेशनका लागि संयोजक तोकिएको कांग्रेसले जनाएको छ । कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ । बैठकले पार्टीको केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको संयोजकत्वमा आवास तथा भोजन समिति पनि गठन गरेको छ ।

प्रकाशित मितिः   २८ कार्तिक २०७८, आईतवार १९:३४