जुम्लावासी पुनः आन्दोलित

चन्दननाथ मन्दिरको मूर्ति चोर पक्राउमा ढिलाई भएको भन्दै जुम्लीवासी पुन आन्दोलनमा उत्रिएका छन् ।  मन्दिरबाट मूर्ति चोरी हुँदा प्रहरी प्रशासन अनुसन्धानमा सक्रिय नभएको आरोप लगाउँदै स्थानीयवासी पुनः सडकमा उत्रिएका हुन् ।

बुधबार साँझ आन्दोलनमा उत्रिएका चन्दननाथ नगरपालिका–४, ढाँडथपला गाउँका महिलाहरुले मूर्तिसहत चोर पक्राउ गरी छिटो सार्वजनिक गर्न माग गरेका छन् । घटना भएको लामो समयसम्म पनि चोर पत्ता लगाउन प्रशासन उदासिन रहेको आरोप उनीहरुले लगाएका छन् । जुलुस सहित आएका स्थानीय महिलाहरुले जिल्ला प्रशासन कार्यालयअगाडि नाराबाजी गरेका थिए ।

महिलाहरुले मन्दिरमा चोरी भएलगतै घटनास्थललाई शिल गरेर अनुसन्धानकार्य अगाडि बढाउनुपर्नेमा उल्टै प्रहरीले पुजारीलाई पुजा गर्न लगाएकोले प्रहरीको मिलेमतो हुनसक्ने भन्दै आक्रोश पोखेका छन् ।

जुम्लामा सिआइवीको टोली घटनाको अनुसन्धानका लागि आएपनि चोरी भएको लामो समय वितिसक्दा पनि कुनै सूचना सार्वजनिक नगरेको भन्दै प्रशासन विरुद्ध नाराबाजी गरे । ‘चोरी भएको तीन हप्ता पुगिसकयो हालसम्म प्रहरी र प्रशासनले चोर पक्राउनमा सक्रिय भएको देखिएन,’ स्थानीय गंगा महतले भनिन्, ‘अनुसन्धानका नाममा जनताको आँखामा छारो हाल्ने र पछि असफल भएको समाचार सुन्न नपरोस् ।’ चोरी भएपछि नै प्रहरीले सबै नाका शिल गर्नुपर्नेमा अपराधिलाई उम्कीने मौका दिएको उनको आरोप छ ।

यस्तै, चन्दननाथ नगरपालिका ६ कि देवकली रावतले अनुसन्धानका लागि स्थानीय युवाहरुलाई समेत परिचालन गर्नुपर्ने बताइन् । धार्मिक र पुरातात्विक एवम् पहिचानको मुख्य आधार नै भन्दननाथ मन्दिर भएकोले यसभित्रका सम्पत्ती चोरी हुनु सिंङ्गो कर्णालीको पहिचान मेटाउने प्रयास भएको रावतले बताइन् । उनले पुजारीबाट सबैकुरा खोल्नुपर्नेमा प्रहरीले संरक्षण गरी राखेको भन्दै आक्रोश पोखिन् । पुजारीबाट प्रहरीले सूचना निकाल्न नसके जनताको हातमा बुझाउन उनको आग्रह छ ।

 

प्रकाशित मितिः   २९ मंसिर २०७३, बुधबार १९:४०