कांग्रेसको वडा अधिवेशन आज
सुर्खेत: नेपाली कांग्रेस सुर्खेतले आज (शनिवार) वडा अधिवेशन गर्ने भएको छ । क्रियाशील सदस्य विवादका कारण लामो समयदेखि स्थगित अधिवेशन हुन लागेको हो । जिल्लाका सबै स्थानीय तहका वडाहरूमा अधिवेशन हुने जिल्ला सभापति कमलराज रेग्मीले जानकारी दिए । उनले सुर्खेतका नौ पालिकाका ९९ वटै वडामा शनिवारदेखि अधिवेशन सुरू हुने बताए । अधिकांश वडामा सर्वसम्मत कार्यसमिति बनाउने प्रयास भइरहेको र केहीमा चुनाव पनि हुनसक्ने नेताहरूले बताएका छन् ।
त्यस्तै, डोल्पामा पनि आजै वडा अधिवेशन हुने भएका छन् । देशभरका १३ मध्ये कर्णाली प्रदेशका सुर्खेत र डोल्पामा वडा अधिवेशन गर्न बाँकी रहेको थियो । केन्द्रीय निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार यी जिल्लामा वडा अधिवेशन हुन लागेको हो । यसअघि कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन गरिसकेको छ । २१ हिमाली जिल्लामध्ये १३ जिल्लामा कांग्रेसले जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व ल्याइसकेको छ भने बाँकी आठ जिल्लामा पनि अधिवेशन गर्ने तयारी छ । हिमाली जिल्लामा अधिवेशन गराउनका लागि निर्वाचन अधिकृत तोकि सकेका छन् । कांग्रेसले केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । त्यसअघि प्रदेश, जिल्लालगायत विभिन्न तहमा रहेका पार्टी संरचनाका लागि अधिवेशन हुनेछन् ।
प्रकाशित मितिः २७ कार्तिक २०७८, शनिबार ०८:५१
साझा बिसौनी ।