टेन्डर स्थगन गर्न पत्राचार

सुर्खेत: संरक्षित तथा ऐतिहासिक क्षेत्र काँक्रेविहार प्रवेशमा वीरेन्द्रनगर नगरपालिकाले शुल्क उठाउन टेन्डर गरेपछि विवादित बनेको छ । उक्त टेन्डर स्थगन गर्न डिभिजन वन कार्यालयले पत्राचार गरेको हो । पुरातात्विक महत्वको क्षेत्रका लागि प्रवेश शुल्क लिन टेन्डर आह्वान गरेकोप्रति ध्यानाकर्षण भएको भन्दै कार्यालयले नगरपालिकालाई पत्राचार गरेको छ । सो कार्य नियम विपरीत र क्षेत्राधिकारभन्दा बाहिर रहेको डिभिजन वनले जनाएको छ ।

नगरपालिकाभित्र रहेका काँक्रेविहार क्षेत्रसहित घण्टाघर पार्क, सहिद पार्क र पाताल दरबार क्षेत्रमा कर उठाउने प्रयोजनका लागि नगरपालिकाले कार्तिक ११ गते बढाबढ प्रक्रियाको टेन्डर आह्वान गरेको थियो । काँक्रेविहारको प्रवेश शुल्कसम्बन्धी टेन्डर प्रक्रिया अघि बढाउन रोक लगाइएको डिभिजन वन कार्यालय प्रमुख गोविन्दप्रसाद दाहालले बताए । ‘काँक्रेविहार पुरातात्विक क्षेत्रको कर उठाउने प्रयोजनको टेन्डरप्रति ध्यानाकर्षण भएको छ,’ उनले भने ।

यता नगरपालिकालेभने नगरभित्र रहेका ऐतिहासिक र पर्यटकीय क्षेत्रको एकद्वार प्रणालीमार्फत कर उठाउन खोजिएको बताएको छ । नगरपालिकाको राजस्व उपशाखाका अनुसार काँक्रेविहार क्षेत्रमा विगत दुई आर्थिक वर्षमा प्रवेश शुल्कबाटै १७ लाख १३ हजार रूपैयाँ आम्दानी भएको छ । काँक्रेविहार क्षेत्रमा आउने पर्यटकबाट प्रवेश शुल्क र पार्किङ शुल्कबापतको रकम आम्दानी भएको हो ।

प्रकाशित मितिः   २७ कार्तिक २०७८, शनिबार ०८:५०