खानेपानी आयोजनाको काम सुरु


साझा बिसौनी संवाददाता
सुर्खेत, ३० चैत । 
सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधान गर्ने आशा गरिएको खरीखोला र बोरीखोला आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्नेगरी काम सुरु भएको छ । निर्माण गर्ने जिम्मेवारी पाएको निजी कम्पनीले झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र इटेको कन्सल्टेन्टमा आफ्नो कार्ययोजना बुझाइसकेको छ । बुझाएको कार्ययोजनाअनुसार असार मसान्तभित्र खरीखोला र बोरीखोलाको पानी वीरेन्द्रनगर करेखोलास्थित ट्याङ्कीमा जोडिसक्ने संस्थाका अध्यक्ष कुलमणी देवकोटाले जानकारी दिए ।
यो आयोजना निर्माणपछि अहिलेको जस्तो खडेरीको समयमा पनि खानेपानीको धेरै समस्या नरहने उनले बताए । प्राविधिक अध्ययन अनुसार खरीखोला र बोरीखोलाबाट ३० लिटर प्रतिसेकेण्डका दरले पानी आपूर्ति गर्न सकिनेछ । यसैबीच, दीर्घकालीन खानेपानीको समस्या समाधान गर्न १० वर्षभित्र भेरीको पानी सुर्खेत उपत्यकामा ल्याउने गरी योजना बनाइएको छ । सुर्खेत उपत्यकामा ल्याउनका लागि राष्ट्रियस्तरको खानेपानी आयोजनाको रूपमा बजेट विनियोजन गर्न पहल सुरु भएको अध्यक्ष देवकोटाले बताए । पहिला १५ वर्षभित्र सुर्खेत उपत्यकामा भेरीको पानी ल्याउने भनेर योजना बनाएको संस्थाले अब १० वर्षभित्रै ल्याउनेगरी काम गर्ने जनाएको छ ।
यसैबीच झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नयाँ वर्ष २०७३ सालको शुभकामना आदान–प्रदान कार्यक्रम पनि मंगलवार गरेको छ । कार्यक्रममा संस्थाका मूल समिति तथा स्कीम समितिका पदाधिकारी र सदस्यसहित अन्य सरोकारवालाहरूको सहभागिता थियो । यसैगरी झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सुर्खेतको स्कीम नम्बर ९ को कार्यालय उद्घाटन मंगलवार नै गरिएको छ । समितिका कामलाई व्यवस्थित गर्न तथा स्कीम समितिका उपभोक्ताका गुनासा सुन्नेगरी वीरेन्द्रनगर नगरपालिका कालुञ्चौकमा सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । संस्थाको मूल समितिका अध्यक्ष कुलमणी देवकोटाले एक समारोहका बीच कार्यालय उद्घाटन गरेका हुन् ।
प्रकाशित मितिः   १ बैशाख २०७३, बुधबार १०:५९