बधाई तथा शुभकामना आदानप्रदान
साझा बिसौनी संवाददाता
सुर्खेत, ३० चैत ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालय, व्यवस्थापन सङ्काय अन्तर्गतको मुसुमले नयाँ वर्ष २०७३ को उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बोल्दै उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले विश्वविद्यालयको शैक्षिक प्राज्ञिक र प्रशासनिक उन्नयनमा सम्पूर्ण तह र तप्काबाट उत्तिकै जिम्मेवारीपूर्वक लाग्न सरोकारवाला सबैलाई आग्रह गरे ।
नयाँ वर्षसँगै विश्वविद्यालयको २० वर्षे रणनीतिक योजनाका आधारमा कार्यक्रम र कार्ययोजना बनाइ चरणबद्ध रूपमा विश्वविद्यालयका सञ्चालित तथा नयाँ सञ्चालन गरिने कार्यक्रमहरूको स्तरोन्नति गर्न अहोरात्र जुट्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । त्यसैगरी रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले विश्वविद्यालयमा जनशक्तिको स्थायित्व र पदोन्नतिलाई विधि र प्रक्रियासम्मत् तरिकाले अगाडि बढाउने बताए । मुसुमका कार्यक्रम निर्देशक डा. नारायण पौडेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।
यसैबीच नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिले हालै मात्र नियुक्त हुनुभएका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन सह–प्राध्यापक खोपीराम लम्साल र विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा.डा. देवबहादुर खड्कालाई एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान गरिएको छ । प्रगतिशील प्राध्यापक सङ्गठन मध्यपश्चिमाञ्चल विश्वविद्यालय कमिटीको आयोजनामा कार्यक्रम भएको हो । सोही कार्यक्रममा नयाँ वर्षको शुभकामना आदान–प्रदान समेत गरिएको सङ्गठनका सचिव विष्णुकुमार खड्काले जानकारी दिए ।
त्यसैगरी प्रजातन्त्रवादी प्राध्यापक संघ र प्रजातन्त्रवादी कर्मचारी संघ मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिले पनि नवनियुक्त डीनहरूलाई स्वागत बधाई र नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अध्यक्ष गणेशबहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सचिव यज्ञप्रसाद उपाध्यायले जानकारी दिए ।
साझा बिसौनी संवाददाता ।