जफत गरिएको मदिरा नष्ट

साझा बिसौनी संवाददाता
सुर्खेत, ३० चैत । 
वीरेन्द्रनगर–१ बाङ्गेसिमलमा रहेको प्रहरी चौकीले विभिन्न समयमा बरामद गरेको मदिरालाई मंगलवार एक कार्यक्रम गरी नष्ट गरेको छ । प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद पौडेलको नेतृत्वमा विभिन्न स्थानहरूबाट बरामद गरिएको करिब ५० लिटर मदिरा नष्ट गरेको हो ।
कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष बमकुमारी जिसीले महिला पुरुष सहकार्यले टोलमा सुधार ल्याउन सक्ने भन्दै सबैलाई एकजुट हुन आग्रह गरिन् । अन्य वडाहरूले पनि यस्ता कार्यको अनुसरण गर्नुपर्ने आवश्यकता रहेको भन्दै जिसीले समाज परिवर्तन गर्न सबैलाई आग्रह गरिन् । यस्तै कार्यक्रममा बाङ्गेसिमल प्रहरी चौकीका प्रमुख कृष्णप्रसाद पौडेलले वडा नंं. २ का महिलाहरूको सक्रिय सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै शान्ति सुरक्षामा प्रहरीलाई सहयोग गरेको प्रति आभार प्रकट गरे । वीरेन्द्रनगर वडा नं. २० का सोभा विकले पनि शान्ति सुरक्षामा महिलाहरूलाई सहभागिता बढाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएको त्रिपुरेश्वर युवा क्लबका अध्यक्ष दिनेश खत्रीले जानकारी दिए ।