प्रदेश अस्पतालमा हाडजोर्नीको सफल शल्यक्रिया

सुर्खेत: कर्णाली प्रदेश अस्पतालमा हाडजोर्नीको शल्यक्रिया सेवा सुरू गरिएको छ । पहिलो पटक दुई जना बिरामीको हिपको सफल शल्यक्रिया गरिएको हो । हिपको जोर्नीमा समस्या भएका बिरामीको सफल शल्यक्रिया गरेर सेवा सुरू गरिएको प्रदेश अस्पतालले जनाएको छ । हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. विकास केसीको नेतृत्वमा उक्त सेवा थालनी गरिएको हो ।

हिपको जोर्नीमा समस्या भएका ४० र ६४ वर्षीया दुई जना महिलाको सफल शल्यक्रिया गरिएकोे हाडजोर्नी तथा नसा रोग विभाग प्रमुख डा. केसीले बताए । उनका अनुसार शल्यक्रियापछि दुवैको स्वास्थ्यमा सुधार हुँदै गएको छ । जनशक्ति र उपकरणको व्यवस्थापनसँगै हाल प्रदेश अस्पतालमा सबैखाले रोगको उपचार सम्भव हुँदै गएको छ । यसअघि हाडजोर्नी तथा नसाको समस्या भएका बिरामीले उपचारका लागि काठमाडौं तथा भारतका विभिन्न अस्पताल धाउनुपर्ने बाध्यता रहेको थियो ।

प्रकाशित मितिः   २६ कार्तिक २०७८, शुक्रबार ०५:०३