मुख्यमन्त्रीको विवरण लिएर थालियो जनगणना

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको पारिवारिक विवरण संकलन गरी प्रदेशमा राष्ट्रिय जनगणना २०७८ को सुरूआत गरिएको छ । प्रादेशिक जनगणना कार्यालयका प्रमुख तोमानारायण पौडेलसहितको गणक टोलीले बिहीवार मुख्यमन्त्रीको विवरण लिएका हुन् । जनगणनाका लागि तयार गरिएको प्रश्नावली मुख्यमन्त्रीलाई सोधिएको थियो । बिहान ८ बजे मुख्यमन्त्री शाहीको निवासमा गएर जनणनाको शुभारम्भ गरिएको हो ।

मुख्यमन्त्री शाहीले बुधवार नै भिडिओ सन्देश जारी गर्दै राष्ट्रिय जनगणनामा अभियानमा सहभागी हुन प्रदेशबासीलाई आह्वान गरेका छन् । विवरण संकलनका क्रममा बोल्दै उनले जनगणनाले नीति र योजना बनाउनमा समेत सघाउने बताए । ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित १२औं राष्ट्रिय जनगणना गरिँदै छ । जनगणना आउँदो मंसिर ९ मा सकिनेछ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना सुरू भएको हो ।

जनगणनाका लागि देशभर आठ हजार पाँच सय सुपरिवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन् । विवरण संकलनका लागि कर्णाली प्रदेशमा मात्र दुई हजार दुई सय ३२ गणक र चार सय ८० जना सुपरिवेक्षक खटाइएका छन् । गणकहरूले मुख्य प्रश्नावली लिएर प्रत्येक परिवारको मूलीसँग सोध्नेछन् । एक जना गणकले कम्तीमा दिनमा १२ परिवारको लगत लिनुपर्ने जिम्मेवारी दिइएको छ । जनगणनाको १५ दिने अवधिमा एक जना गणकले सरदर एक सय ७५ घरपरिवारको लगत लिनेछन् ।

जनगणनाका क्रममा प्रत्येक परिवारलाई ८० वटा प्रश्न सोधिदै छ । यी प्रश्नलाई पहिलो चरणमा ‘घर तथा घरपरिवार सूचीकरण’ र दोस्रो मूल जनगणनामा ‘मुख्य प्रश्नावली’ र ‘सामुदायिक प्रश्नावली’ गरी तीन किसिमले विभाजन गरिएका छन् । पहिलो चरण ‘घर तथा घरपरिवार सूचीकरण’ भदौ ३० मा सुरु भएर असोज १८ मा सम्पन्न भइसकेको छ । जनगणनाका लागि सरकारले चार अर्ब रूपैयाँ बजेट छुट्याएको छ । नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार प्रत्येक १० वर्षमा जनगणना हुँदै आएको छ ।

प्रकाशित मितिः   २६ कार्तिक २०७८, शुक्रबार ०५:०४