पदाधिकारीलाई कामकाजमा रोक

प्रतिष्ठानका कर्मचारी आन्दोलित

सुर्खेत: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित बनेका छन् । सरकारले प्रतिष्ठानका पदाधिकारीलाई कामकाजमा रोक लगाएपछि उनीहरू आन्दोलित भएका हुन् । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिस्ट्रार नृपेन्द्र महतसहित निर्देशक र डीनलाई स्वास्थ्य मन्त्रालयले कामकाजमा रोक लगाएको छ । त्यसकै विरोधमा ८८ भन्दाबढी कर्मचारीको हस्ताक्षर गरी विज्ञप्ति जारी गर्दै बिहीवारदेखि आन्दोलन सुरू गरिएको हो ।

प्रतिष्ठानमाथि हस्तक्षेप भएको भन्दै कर्मचारीले संघर्षका कार्यक्रमसहित अघि बढ्ने चेतावनी दिएका छन् । उपकुलपति, रजिस्ट्रारलगायतका पदाधिकारीलाई कामकाजमा रोक लगाउँदा दैनिक प्रशासनिक तथा शैक्षिक गतिविधि प्रभावित भएका छन् । एमबिबिएस, बिएनएस, बिफार्मालगायतका शैक्षिक कार्यक्रम सञ्चालनमा समस्या आउने भन्दै कर्मचारीले मन्त्रालयको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । ‘राजनीतिक दाउपेज र राज्यबाट भइरहेको हस्तक्षेप प्रतिष्ठानलाई अगाडि बढ्न नदिन रचिएको सुनियोजित षड्यण्त्रका रूपमा हामीले लिएका छौं,’ कर्मचारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिष्ठानका सहकुलपति एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई अर्को निर्णय नभएसम्म कामकाजमा रोक लगाएका थिए । उक्त पत्र मंगलवार प्रतिष्ठानमा पुगेको उपकुलपति रावल जानकारी दिए । रावल २०७७ चैत २२ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका थिए । त्यसअघि कर्णालीसहित पाटन स्वास्थ्य विज्ञान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्ने प्रक्रिया नमिलेको भन्दै सर्वोच्चमा रिट परेको थियो । उक्त रिटका आधारमा अदालतले चैत २० गते यी संस्थामा तत्कालका लागि पदाधिकारी नियुक्ति प्रक्रिया रोक्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिष्ठानका एक पदाधिकारीका अनुसार अदालतको उक्त अन्तरिम आदेशसहितको चिठी चैत २७ गते प्रधानमन्त्री कार्यालयले र ३१ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुझेको थियो । ‘सरकारले हामीलाई अगाडि नै नियुक्त गरिसकेको थियो, कामकाज पनि सुरू गरिसकेका थियौं,’ ती पदाधिकारी भन्छन्, ‘सरकारले आदेश भएको मितिभन्दा पनि म्याद तामेली भएको मितिलाई हेर्ने हो ।’ उनले अहिले आफूहरूलाई राजनीतिक पूर्वाग्रह साँध्न काम नगर्नु भन्ने पत्र आएको आरोप लगाए । तत्काल माग सम्बोधन नभए प्रतिष्ठानको सम्पूर्ण टिम संघर्षका कार्यक्रमसहित आन्दोलनमा जाने चेतावनीसमेत कर्मचारीले दिएका छन् ।

प्रकाशित मितिः   २६ कार्तिक २०७८, शुक्रबार ०५:०२