एनसीईको प्रदेश समन्वय समिति गठन

सुर्खेत: शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) को कर्णाली प्रदेश समन्वय समिति गठन गरिएको छ । समितिको संयोजकमा कालीकोटका तुलाराम पाण्डे चयन भएका छन् । बिहीवार वीरेन्द्रनगरमा सम्पन्न एनसीईको प्रथम साधारणसभाले सात सदस्यीय समन्वय समिति बनाएको हो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय कोषाध्यक्ष टिकाराम आचार्य र केन्द्रीय सदस्य दुर्गा गिरीको उपस्थितीमा सम्पन्न भेलाले कर्णाली समन्वय समिति सर्वसम्मत चयन गरेको छ । सभाले कर्णाली प्रदेश समन्वय समितिको सह–संयोजकमा सुर्खेतका मधुरानी ढकाल र सचिवमा दैलेखका हिक्मतबहादुर नेपालीलाई चयन गरेको छ । यस्तै, कोषाध्यक्षमा दैलेखकी रजनी योगी चयन भएकी छन् । सदस्यमा कालीकोटका राजेन्द्र सहकारी, सुर्खेतका तेज सोनाम र भुपेन्द्रप्रसाद कंडेललाई चयन गरिएको छ । प्रदेशभर समिति विस्तार गरेर सदस्य थप्ने योजना रहेको जनाइएको छ । समिति चयन हुनभन्दा अघि एनसीई नेपालको आयोजनामा कोभिड महामारीमा विद्यालय पुनः सञ्चालन र सिकाइ निरन्तरताको अवस्था र प्रदेश सरकारको तयारी विषयक प्रदेशस्तरीय छलफल पनि गरिएको थियो ।

प्रकाशित मितिः   २६ कार्तिक २०७८, शुक्रबार ०५:०१